प्रस, परवानीपुर, ११ साउन/

वीरगंजस्थित दुईवटा भन्सार नाकाबाट गत आव २०७७/७८ मा करीब ५ खर्ब ८२ अर्बको वैदेशिक कारोबार भएको छ । वीरगंजको आइसिपी र  सुक्खा बन्दरगाहा भन्सार नाकाबाट सो मूल्यबराबरको सामान आयात–निर्यात भएको छ । वीरगंज भन्सार नाकाको आइसिपी भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँँको मालसामान आयात भएको छ भने रु ५३ अर्ब रुपैयाँँको सामान निर्यात भएको छ । त्यसैगरी, सुक्खा बन्दरगाहा भन्सार नाकाबाट रु २६ अर्ब १६ करोडको मालसामान भित्रिएको थियो भने रु ३८ करोड रुपैयाँबराबरको सामान भारत तथा तेस्रो मुलुकमा निकासी भएको भन्सार अधिकारीहरूले बताएका छन् ।

वीरगंज भन्सारबाट अघिल्लो आव २०७६/७७ को तुलनामा गत आवको कुल व्यापार २७ प्रतिशतले बढेको छ । आयातको आकार २४ प्रतिशतले वृद्धि हुँदा निर्यात ६६ प्रतिशतले बढेको भन्सारको तथ्याङ्क छ । निर्यात व्यापारमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको मुख्य योगदान रहेको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी गराए ।

गत वर्ष कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले वैदेशिक व्यापार प्रभावित भएको भन्सार अधिकारीहरू बताउँछन् । आवको अन्त्यतिर सवारीसाधन चल्न थालेकाले इन्धनको आयात बढेको थियो । नयाँ सवारीसाधनको जाँचपास पनि पछिल्लो महीनामा बढेको भन्सारको तथ्याङ्कले देखाउँछ । जुत्ता, चप्पल, हार्डवेयर, उपकरण, गाडीका पार्टपुर्जाजस्ता सामानको आयात भने घटेको जानकारी पौडेलले दिए । वीरगंज भन्सार नाकाबाट भित्रिने मुख्य वस्तुमा सवारीसाधन र पेट्रोलियम पदार्थ मुख्य हुन् । गत आवमा यो नाकाबाट जीप, कार, भ्यान, मोटरसाइकल, ट्रक, मिनीट्रकलगायतका सवारीसाधन, इन्धन बढी भित्रिएका छन् ।

वीरगंज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थ पनि उल्लेख्य परिमाणमा भित्रिन्छ । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगले यही नाकाबाट कच्चा पादर्थ भिœयाउने गरेको वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालले बताए । बढी मात्रामा एमएस बिलेट, कोइला, एमएस स्टील स्ट्रीप, पोलिथिन दाना, खाद्यान्न तथा दाना उद्योगका कच्चा पदार्थ आयात हुने गरेको उनले बताए ।

पङ्खा, अप्टिकल फाइबर केबुल, मोटरको ब्याट्री, गाडीका पार्टपुर्जा र एलोपेथिक औषधि पनि भित्रिने गरेको भन्सारको तथ्याङ्कले देखाउँछ । निर्याततर्फ भटमासको तेल, जुस, कपडा, जुत्तालगायतका सामग्री रहेका छन् ।

सुक्खा बन्दरगाह भन्सारबाट गत वर्ष फलाम उद्योगका कच्चा पदार्थ, केराउ, मदिरा, तोरी, मरिच, सूर्यमुखीको अर्धप्रशोधित तेल बढी भित्रिएको उक्त भन्सारका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले जानकारी गराए । यो अवधिमा चाउचाउ, अचार, पीठो, टायर, छाला, जडीबुटीलगायतका वस्तु निर्यात भएको जानकारी पनि कट्टेलले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here