प्रस, परवानीपुर, १० साउन/

प्रदेश २ मा गत आवमा सवारी दुर्घटनामा परी ५२३ जनाको मृत्यु भएको २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया, बाराले जनाएको छ ।

पर्सादेखि सप्तरीसम्म ८ जिल्लामा ३ हजार ९८३ वटा सवारी दुर्घटना हुँदा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य घाइते भएका सो कार्यालयले बताएको छ । दुर्घटनामा ५ हजार ८११ वटा सवारीसाधन परेका थिए ।

त्यसैगरी, प्रदेश ट्राफिक प्रहरी कार्यालयले गत आवमा १९ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाई गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय, पथलैयाका प्रमुख एवं प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले बताए ।

भारवाहन क्षमताभन्दा बढी बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए ।

चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

बितेको एक वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढीको सहभागिता रहेको सूचना अधिकारी प्रनाउ जैसवारले बताए ।

ट्राफिक प्रहरीले गत आवमा १०६ वटा चोरी तथा भन्सार छलीका सवारीसाधन पक्राउ गरेर कारबाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको उनले बताए । ७८ वटा मोटरसाइकल, २४ वटा जीपकार, ३ वटा डिजे रथ र एउटा ट्याक्टर समातिएको प्रनाउ जैसवारले बताए । कारबाहीका लागि पठाइएका यस्ता सवारीसाधनको अनुमानित मूल्य २ करोड १० लाख ६१ हजार रुपैयाँ रहेको उनले बताए ।

बढी भाडा लिनेलाई धमाधम कारबाही

चालू आव २०७८/७९ को सुरुआतसँगै यात्रुसित बढी भाडा असुल्ने सवारीसाधनमाथि कारबाही तीव्र पारेको प्रवक्ता जैसवारले बताए ।

कोरोना महामारीका कारण सवारीसाधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएकोभन्दा बढी भाडा लिने प्रवृत्ति बढेपछि चेकजाँच तीव्र पारिएको उनले बताए ।

प्रदेश ट्राफिकले साउन २–४ गते गरेको चेकजाँचका क्रममा ३० वटा सवारीसाधनले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएपछि र लिएको बढी भाडा यात्रुलाई फिर्ता गराइएको सूचना अधिकृत जैसवारले बताए ।

बढी भाडा असुल्ने सवारीसाधनलाई जरिवाना गरी छाडिएको उनले बताए । सरकारले हालै भाडा समायोजनमार्फत अन्तरप्रदेश सवारी भाडादर २८ प्रतिशत र ढुवानीमा २६ प्रतिशतसम्म भाडा बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here