– सञ्जीतकुमार मण्डल
जलेश्वर, १० साउन/रासस

प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सीतामढीमा भेटिएका ती किशोरी हराएको घटनाले चार महीनापछि नयाँ मोड लिएको छ ।

टिकटक हेरेर गायिका बन्न भारततर्फ गएको भनिएका भङ्गाहा–८ धर्मपुरका सात किशोरीलाई बेच्ने उद्देश्यले योजनाबद्ध तरीकाले भारत पु¥याइएको रहस्य युवतीका आफन्तले खोलेका छन् । साथै बालिकालाई कसले, कहाँ र कसरी लैजाँदै गरेकोबारे कसैलाई केही नबताउन ओरेक नेपाल महोत्तरीका प्रमुख लीला दियालीले धम्की दिएको उनीहरूको आरोप छ । उनीहरूले ओरेक प्रमुख दियालीले प्रहरी र अपहरणकर्तासँग मिलेर मोटो रकम खाएर आफ्ना बालबालिकालाई कसैलाई केही भनेमा ज्यान मार्नेसम्मको धम्की दिएको आरोप लगाएका छन् ।

घाँस काट्ने बहानामा चैत १७ गते आआप्mनो घरबाट निस्केका १२ वर्षीयाद्वय सीमा पासवान र रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १४ वर्षीया रिया, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान वनबाट अचानक हराएका थिए । भारतको मायानगरीको नामले चर्चित मुम्बई जाँदै गर्दा हराएको भोलिपल्ट बिहारको सीतामढी रेल्वे स्टेशनबाट भारतीय प्रहरीले उच्च सतर्कता अँगाल्दै उनीहरूको उद्धार गरेको थियो ।

उद्धार गरिएकीमध्ये अर्चनाकी दिदी कलाकारसमेत रहेकी, पूजा पासवानले उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने जितेन्द्र पासवानले प्रलोभनमा पारी भारततर्पm बेच्ने उद्देश्यले योजनाबद्धरूपमा लगेको आरोप लगाएकी छन् । घटनालगत्तै स्थानीय जनप्रतिनिधिसँगै प्रहरी प्रशासनले पनि किशोरीहरू अपहरणमा परेको आशङ्का गरेका थिए । अपहरणमा पूजाको नै संलग्नता हुन सक्ने आशङ्का पनि उनीहरूको थियो । घटनाबारे थाहा पाएलगत्तै प्रहरीले पूजामाथि सूक्ष्म निगरानी राख्दै हराएका किशोरीको खोजीमा निस्केको थियो।

हराएको भोलिपल्ट भारतीय प्रहरी, भारतीय एसएसबी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समन्वयमा उनीहरू भारतको सीतामढीबाट रेल चढ्न लागेको बेला उद्धार गरिएको थियो । यद्यपि अनुसन्धानका क्रममा महोत्तरी प्रहरीले घटनामा कसैको संलग्नता नदेखिएको बताएपछि प्रहरीको अनुसन्धानमा समेत प्रश्न उठेको थियो तर चार महीनापछि आएर त्यतिखेरको नाटकको पर्दाफाश भएपछि घटनाले अर्कै मोड लिएको छ ।

गाउँँबाहिर कहिले पनि कतै नगएका ती किशोरी आफैं कसरी सीमामा सशस्त्र प्रहरीलाई छक्याएर समूहमैं मुम्बई जाने योजना बनाउन सक्छन् भन्दै स्थानीयवासीले त्यतिखेर प्रश्नसमेत उठाएका थिए ।

महोत्तरी प्रहरीसँगै ओरेक नेपालकी अधिकृत दियालीले समेत टिकटक भिडियो देखेर ती किशोरी मुम्बई जाँदै गरेको बयान दिएको बताएकी थिइन् तर पीडितका आफन्तले आप्mना बालिकालाई विभिन्न धम्की र लोभलालच दिएर ओरेक नेपालले अपराधीसँग साँठगाँठ गरी बयान फेर्न लगाएको नाम नछाप्ने शर्तमा एक बालिकाकी आमाले छोरीको भनाइ अघि सार्दै दाबी गरेकी छन् । उनीजस्तै सातैजना बालिकाका आफन्तले ओरेक नेपालले काउन्सिलिड्ढो बहानामा आफ्ना बालबालिकालाई कसैले सोधेमा आफूले भनेजस्तै कुरा मात्र भन्ने र अरू कुरा भनेमा तिमीहरूलाई प्रहरीले जेलभित्र हालिदिने धम्की दिएको उनीहरूको आरोप छ ।

यता सातै किशोरीलाई करीब एक सातासम्म काउन्सिलिङ गरेका ओरेक नेपालकी अधिकृत दियालीले उनीहरूलाई मनोपरामर्श सेवा दिएको र कुनै धाकधम्की नदिएको दाबी गरेकी छन् । उनले आफूहरू अनुसन्धान गर्ने निकाय नभएकोले घटनामा अर्काे पक्षको संलग्नताबारे कुनै जानकारी नरहेको थपिन् ।

यसैबीच चार महीना अघिको त्यो घटना सामसुम हुन लागेको बेला पूजा पासवानले कुनै बेला नजीकको साथी रहेका जितेन्द्रमाथि योजनाबद्धरूपमा किशोरीलाई बेच्न लागेको आरोप लगाएको र बालिकाका आफन्तले ओरेक नेपालकी अधिकृत दियालीले आफ्ना बालबालिकालाई धाकधम्की दिएर बयान फेर्न लगाएको आरोपसमेत बाहिर आएपछि यस घटनाले नयाँ मोड लिएको हो ।

घटनामा शङ्कास्पद पात्र मानिएकी पूजाको यो बयानले प्रहरी अनुसन्धानमाथि पनि प्रश्न उठेको छ भने यस घटनामा प्रहरी र ओरेक नेपाल दुवैको संलग्नता अपराधीसँग भएको हुन सक्ने शङ्कासमेत पैदा भएको छ । बालिकाका आफन्तले यस घटनाबारे केन्द्रीय प्रहरी, प्रदेश प्रहरी, महिला तथा बालबालिका आयोग, मानव अधिकारलगायत सरोकारवालासँग पुनः छानबीन गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन जोडदार माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here