लन्डन, १० साउन/एएफपी
सन् २०२१ को नोभेम्बरमा बेलायतको आयोजनामा स्कटल्यान्डको ग्लासगोमा हुने संयुक्त राष्ट्रसङ्घ जलवायु सम्मेलन (कोप–२६) भन्दा पहिले बेलायतले जलवायु परिवर्तन समस्याबारे विभिन्न ५१ देशका जलवायु तथा वातावरण मन्त्रीहरूसँग छलफलको आयोजना गर्ने भएको छ।
बेलायत सरकारका मन्त्री तथा कोप–२६ शिखर सम्मेलनका अध्यक्ष आलोक शर्माको संयोजकत्वमा हुने भेलाले शिखर सम्मेलनमा ‘समाधानका लागि आवश्यक पर्ने मुख्य मुद्दा’ तय गर्ने बताइएको छ ।
शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ–“वातावरण मन्त्रीहरूको यो भेलाले जलवायु समस्याबारे साझा धारणा निर्माण गर्ने र ग्लासगो सम्मेलनको रूपरेखा तयार गर्नेछ ।”
वातावरण र जलवायु मामिला मन्त्रीहरूको बैठकमा अमेरिका, भारत र चीनलगायतको सहभागिता हुने बताइएको छ । बैठकमा भर्चुअल र भौतिक दुवै प्रकारको उपस्थिति हुने बताइएको छ ।
यो विगत १८ महीनाको अवधिमा हुने मन्त्रीस्तरीय पहिलो प्रत्यक्ष भेला हुनेछ ।
शर्माले भने–“हामीले हाम्रो ग्रहमा खतरनाक समयको सामना गरिरहेका छौं । देशहरू एउटै बाटोमा अघि बढे मात्र यसको भविष्य रक्षा गर्ने एक मात्र तरीका हुनेछ ।”
“ग्लासगोमा भेला भएका हामीहरूलाई, निर्णायक यस दशकमा के गर्न आवश्यक छ र के हुनेछ भनी विश्व समुदायले हाम्रो निर्णयको प्रतीक्षा गर्नेछ ।”
“हामीसँगै मिलेर समस्याबारे साझा आधार खोज्नु र सामूहिकरूपमा हामी कसरी आप्mना बच्चाहरू र भविष्यका पुस्ताको लागि हरियाली, उज्ज्वल भविष्य निर्माण गर्न सक्छौं यसको नतीजा निकाल्नु कोप–२६ को उद्देश्य हुनेछ ।”
यस कार्यक्रमले १.५ सेन्टिग्रेड तापमान वृद्धिको सीमा कायम राख्ने, जलवायु वित्त, जलवायु परिवर्तनलाई अनुकूल बनाउन प्रयास गर्ने, पेरिस सम्झौता कार्यान्वयनका लागि ‘रूलबूक’ लाई अन्तिम रूप दिने जस्ता विषयहरूको अन्वेषण गर्ने लक्ष्य समेटेको छ । रासस