प्रस, वीरगंज, ८ साउन/
पर्सागढी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत भरत यादवले गरेका भ्रष्टाचारको पोल खुल्न थालेको छ ।
नगरप्रमुख लोकनारायण यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले नक्कली बिल प्रयोग गरी भुक्तानी दिएको, नक्कली उपभोक्ता समिति बनाएर रकम हिनामिना गरेको, खरीद नभएको सामानको भुक्तानी दिएको जस्ता घटना पनि बाहिरिएका छन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव बाराबाट सरुवा भई आउँदा ल्याएका रमेश यादव तथा दीपक सिंहमार्फत आफैंले खोलेको कम्पनीबाट लाखौं मूल्यबराबरको धारा, कृषि सामग्री, औषधि, बोटबिरुवा, खाद्यान्न, फर्निचरलगायतका सामान खरीद गरेको स्रोतले बताएको छ ।
असार महीनाको अन्तिम दिन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले करीब चार करोड रुपैयाँको नक्कली बिल भुक्तानी गराउन दबाब दिंदा लेखा अधिकृतले चेक काट्न नमानेपछि सबै बिलको भुक्तानी रोकिएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले गरेको भ्रष्टाचारको साक्षी लेखा अधिकृत राम कुशवाहा बस्न नमानेपछि फिर्ता पठाएको कोष तथा लेखा नियन्त्रकको कार्यालय पर्साले जनाएको छ ।
कोलेनिकाका प्रमुख रुद्रबहादुर कार्कीका अनुसार नगरपालिकाले फिर्ता पठाएको लेखा अधिकृत कुशवाहा हालसम्म पर्सागढी नपाकै कर्मचारी रहेको र उनलाई नियम मिचेर काम गराउन खोज्दा नमान्दा फिर्ता पठाउन नमिल्ने बताउँछन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले चार करोड रुपैयाँबराबर बिलको भुक्तानीको फाइलमा तोक लगाएका छन्, हाम्रो लेखा अधिकृतले चेक काट्न नमानेपछि नियमविपरीत काम गर्न खोज्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले दबाब दिएको कोलेनिकाको भनाइ छ ।
यतिमात्र होइन नगरप्रमुख यादवले नीति तथा कार्यक्रम वाचन गरेबापत रु ५ लाख भुक्तानी लिएका छन् । बाराका विभिन्न फर्मलाई बीउबिजन, आर्गेनिक मल, धारा, मोटर, ह्युमपाइप, विद्यालय फर्निचर खरीदमा २ करोड, कोरोनाकालमा वीरगंजमा रहेको साह होटेललाई क्वारेन्टाइनबापत ११ लाख, सामुदायिक विद्यालयमा सफ्टवेयर जडान नगरी २० लाखको बिल अवैध भुक्तानीको लागि पेश भएको छ ।
यस्तै, घटना दर्ताका नाममा १२ लाख रुपैयाँको बिल पेश भएको बताइएको छ । नगरपालिकाकी उपप्रमुख अर्चना चौधरीले यसबारे केही दिनअघि नेपाल पत्रकार महासङ्घमा पत्रकार सम्मेलन गरी बताएकी थिइन् ।