प्रस, वीरगंज, ८ साउन/

जनता समाजवादी पार्टी बाराका दुईजना नेता वीरगंज कारागार चलान भएका छन् ।

बारा जिल्ला अदालतको बिहीवारको फैसलाबाट संविधानसभा सदस्य एवं जसपाका केन्द्रीय सदस्य प्रमोद गुप्ता र जसपा बाराका प्रवक्ता अरुणकुमार सिंहलाई जनही ६ महीना कैद सजायको लागि वीरगंज कारागार चलान भएका हुन् ।

२०७४ सालमा उनीहरूमाथि आगजनी मुद्दा लागेको थियो र बारा जिल्ला अदालतले कैद सजायका साथै जनही ९ लाख ८३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्टको गाडी तोडफोड गरी आगजनी गरेको कसूरमा यी दुईजनासहित तीनजनामाथि मुद्दा परेको थियो ।

हिजो बिहीवार दुईजना हाजिरी भएपछि उनीहरूको विरुद्धमा फैसला भएपछि जेल चलान गरिएको हो । यही मुद्दामा जसपाका स्थानीय कार्यकर्ता सचिदानन्द यादवलाई पनि ६ महीना कैद र ९ लाख ८३ हजार रुपियाँ जरिवाना तोकिएको छ ।

जसपा देउवा सरकारमा सहभागी भएपछि सो पार्टीका नेता, कार्यकर्ता पक्राउ परेको पहिलो घटना हो । सरकारमा जानुअगाडि सो पार्टीका नेता, कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने र मधेस आन्दोलनको माग सम्बोधन हुने कुरामा सहमति भएकोमा सोविपरीत कार्य भएपछि जसपा बाराका कार्यकर्ताहरूमा आक्रोश बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here