प्रस, कलैया, ८ साउन/
पिपुल इन नीडको सहयोगमा आसमान नेपालले बाराको पचरौता नगरपालिकामा सञ्चालित आरम्भ परियोजनाको शुक्रवार अनुगमन गरेको छ । अनुगमनको क्रममा पचरौता नगरपालिकामा सञ्चालित ३६ वटा परियोजनामध्ये ८ वटा परियोजनाको अनुगमन गरिएको थियो ।
आसमान नेपालले १० वर्षदेखि १९ वर्षसम्मका विद्यालय नगएका किशोरीहरूलाई सिकाइ केन्द्र सञ्चालन गरेर अध्यापन गराउँदै आएको छ ।
कार्यक्रम अधिकृत धर्मेन्द्र चौरसियाले परियोजना अन्तर्गत १४ वर्षसम्मका किशोरीहरूलाई विद्यालय भर्ना गराउने र त्यसमाथिका किशोरीहरूलाई उनीहरूको रोजाइ अनुसारको सीपमूलक तालीम दिएर आत्मनिर्भर बनाउने बताए ।
अधिकृत चौरसियाले पचरौता र आदर्श कोतवाल गाउँपालिका गरी बारा जिल्लाका दुई ठाउँमा परियोजना अन्तर्गत ६५ वटा सिकाइ केन्द्र सञ्चालनमा रहेको र त्यसमा १३५७ जना किशोरी अध्ययन गरिरहेको बताए ।
त्यसमध्ये ६४३ जनालाई विद्यालय भर्ना गराइसकिएको उनले जानकारी गराए । अनुगमन टोलीमा पचरौताका नगरप्रमुख रमेश यादव, प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव, स्वास्थ्य शाखा प्रमुख नवल यादव, शिक्षा संयोजक प्रमोद यादव, आसमान नेपालका अध्यक्ष हरिशचन्द यादव, कार्यक्रम प्रबन्धक सञ्जीव गुप्ता, बारा जिल्लाका कार्यक्रम संयोजक रामसुरेश ठाकुर, शिक्षा अधिकृत रामप्रवेश यादव, सपना, सुरुचिलगायत सहभागी थिए ।