Wednesday, February 5, 2025

उम्मेदवार छनोटमा चलखेल हुने भन्दै उजूरी

Share

प्रस, निजगढ, १५ भदौ/
    निजगढ नगरपालिकाले माग गरेको फिल्ड सहायक कर्मचारी छनोटप्रति असन्तुष्टि जनाउँदै अन्य उम्मेदवारहरूले छानबीनको माग गरेका छन्।
    एकजना फिल्ड सहायक कर्मचारीको आवश्यकता रहेको भन्दै साउन १६ गते निजगढ नगरपालिकाले विज्ञापन गरेको थियो। सो पदका लागि २८ जनाले उम्मेदवारी दिएका थिए र भदौ १० गते छनोट समितिद्वारा निर्धारित परीक्षामा सामेल भएका थिए। तीमध्ये ८ जनालाई छनोट प्रक्रियामा सामेल गर्ने निजगढ नगरपालिका छनोट समितिले अवसर दिएको थियो।
    चारजना उम्मेदवारले छनोट प्रक्रियामा कमी कमजोरी भएको जनाउँदै छानबीनका लागि जिल्ला प्रशासन कार्यालय, बारामा लिखित उजूरी दिएका छन्।
    जिप्रका बारामा सो उजूरी परेसँगै निजगढ नगरपालिकाको कार्यालयलाई जिप्रका बाराले पत्राचार गरेको र जवाफ आइतवार जिल्ला प्रशासन कार्यालय बारामा पठाएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले बताए।
    नियमको परिधिमा रहेर छनोट समितिले उम्मेदवार छनोट गरेको प्रमुख प्रशासकीय अधिकृत कार्कीले प्रतिक्रिया दिए।
    छनोटमा दलगतलगायत भित्री चलखेल हुन सक्ने आशङ्का रहेको भन्दै शुरूदेखि अन्तिमसम्म प्रक्रियामा रहेका सम्पूर्ण कागजातको अध्यायन गरी उचित छानबीन गर्न उजूरी दिनेमा अस्मिता बन्जारा, प्रमिला चौलागाईं, योगेश न्यौपाने, सन्तोष चौलागाईं रहेका छन्।

Read more

Local News