भर्चुअल तेक्वान्दोमा मूलपानी च्याम्पियन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

काठमाडौं, १५ भदौ/रासस
    मूलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ। तीन स्वर्ण, तीन रजत तथा पाँच कांस्य पदकसहित मूलपानी च्याम्पियन बनेको हो। काठमाडौं जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा एक स्वर्ण, दुर्ई  रजत र एक कांस्य पदकका साथ चितवन दोस्रो तथा एक स्वर्ण, एक रजत र एक कांस्य पदकका साथ कैलाली तेस्रो भएको छ। प्रतियोगितामा कुल ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।
    यस्तै प्रतियोगितामा स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी मावि, नेपाल प्रहरी, नेपाली सेना र रूपन्देहीले एकएक स्वर्ण पदक प्राप्त गरेको आयोजक सङ्घका अध्यक्ष अशोक खड्काले जानकारी दिए। प्रतियोगितामा यु–१८ पुरुष एकलतर्फ १३औं दक्षिण एशियाली खेलकूद (साग) का कांस्य पदक विजेता अस्मिन राउतले स्वर्ण जिते। उनले ६.५३ अङ्क प्राप्त गरे। चितवनका अब्बास खानले ५.९६ अङ्कका साथ रजत तथा चितवनकै सागर बरालले ५.८३ अङ्क र कैलालीका लक्ष्मण श्रेष्ठले ५.६३ अङ्क प्राप्त गर्दै कांस्य पदक प्राप्त गरे।
    यस्तै यु–१८ महिला एकलतर्फ नेपाली सेनाकी रोशनी श्रेष्ठले ६.५० अङ्क प्राप्त गर्दै स्वर्ण जितिन्। चितवनकी जैनब खातुनले ६.२० अङ्कका साथ रजत तथा मूलपानीकी अस्मिता नगरकोटीले ६.१३ अङ्क र सुनसरीकी सुदेशना गुरुङले ५.७६ अङ्क ल्याई कांस्य पदक प्राप्त गरे। यसैगरी यु–३१ पुरुष एकलतर्फ नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूले ६.७३ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जिते। उनी १३ औं सागको कांस्य पदकधारीसमेत हुन्। सागका कांस्य पदकधारी नेपाली सेनाका दीपेन्द्र गुरुङले ६.५० अङ्कका साथ रजत तथा मूलपानीका पुष्पप्रसाद गौतम ६.२० अङ्क र दोलखाका नोर्बु मोक्तानले ५.९६ अङ्कका साथ कांस्य पदक प्राप्त गरे। यु–३१ महिला एकलतर्फ १३ औं सागका स्वर्ण पदक विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो। सेनाकी निताले ६.७० अङ्कसाथ स्वर्ण तथा स्युचाटारकी सन्जिलाले ६.५६ अङ्कका साथ रजत प्राप्त गरे। सो स्पर्धामा मूलपानीकी चन्दु शाहीले ६.१६ अङ्क र दाड्ढी सुनिता विष्टले ५.४३ अङ्क ल्याई कांस्य पदक प्राप्त गरे।
    यसैगरी पुरुष ४१ वर्षमाथिको उमेर समूहमा मूलपानीका मधुसूदन सापकोटाले ५.९० अङ्क प्राप्त गर्दै स्वर्ण जिते। कैलालीका आशिष चन्दले ५.६० अङ्क ल्याई रजत तथा रूपन्देहीका विकास उदयले ५.४६ अङ्क र गैरीगाउँँका सोभितमान गिरीले ५.४६ अङ्क ल्याई कांस्य पदक प्राप्त गरे।
    आयोजक सङ्घका अध्यक्ष खड्काका अनुसार उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता थियो। प्रतियोगितामा अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस