प्रस, गरुडा, ६ साउन/
सार्वजनिक बसले तोकेको भन्दा बढी भाडा यात्रुसित असुलेको गुनासो बढेपछि ट्राफिक प्रहरी चेकजाँचमा सक्रिय भएको छ । दुई नं प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले बढी भाडा असुल्ने सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाएको हो ।
बुधवार गौर–काठमाडौं चल्ने ना.८ख १० र ना.६ख ४३७६ नम्बरका दुईवटा सार्वजनिक बसका तीनजना यात्रुसित असुल गरेको बढी भाडा ट्राफिक प्रहरीले फिर्ता गराएको हो । यसैगरी, भिस्वा–वीरगंज–काठमाडौं चल्ने ना.५ख ४७६८ नम्बरको बसका चारजना यात्रुसित पनि बसले उठाएको बढी भाडा प्रहरीले सम्बन्धित यात्रुलाई नै फिर्ता गराएको कार्यालयले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० को उपदफा २ (ख) बमोजिम कारबाही गरिएको तथा यात्रीबाट लिइएको बढी भाडा फिर्ता गराइएको दुई नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी गराए । बुधवार सातजना यात्रीलाई एक हजार पाँच सय पचास रुपैयाँ फिर्ता भएको प्रनाउ जैसवारले जानकारी गराए ।
गाडीले लिइसकेको भाडा यात्रीले फिर्ता पाउँदा यात्रीहरू निकै खुशी हुने गरेको प्रनाउ जैसवारको भनाइ छ ।