प्रस, वीरगंज, १४ भदौ/
वीरगंजका सङ्क्रमितहरूका लागि सिस्टर रोबोटले खाना र औषधि पु–याउने भएको छ।
सानो पाइला वीरगंजले राष्ट्रिय अनुसन्धान परिषद्ले तयार पारेको सिस्टर रोबोटद्वारा वीरगंजका कोभिड अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितहरूलाई खाना, औषधि तथा अत्यावश्यक सामान पु–याउने भएको छ।
सानो पाइलाले नारायणी अस्पताल विकास समितिका पदाधिकारीहरूको रोहबरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरलाई एक थान विद्युतीय सिस्टर रोबोट प्रदान गरेको जनाएको छ।
संस्थाका कार्यकारी निर्देशक कञ्चन झाका अनुसार संस्थाका कर्मचारी तथा भौतिकशास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले अस्पतालमा प्रयोग हुने स्टीलको टेबुललाई विद्युतीय सिस्टर रोबोट बनाएको बताए।
उनले भने, “सङ्क्रमितलाई खाना, नास्ता, पानी, औषधिलगायतका कामका लागि स्वास्थ्यकर्मीहरू अब सङ्क्रमित नजीक जानुपर्दैन। सिस्टर रोबोटमा सामान राखेर सङ्क्रमितकहाँ पठाउन सकिन्छ।”
सिस्टर रोबोटमा भएको ब्याट्री चार्ज गरेपछि दैनिकरूपमा त्यसले काम गर्छ। सिस्टर रोबोट उपलब्ध गराएकोमा नारायणी अस्पताल वीरगंजले सहयोगी संस्थालाई धन्यवाद दिएको छ।