प्रस, वीरगंज, ५ साउन/
वीरगंज महानगरपालिकाले विपी उद्यानमा बसोबास गर्दै आएका डोम, मुसहर समुदायको छाप्रो हटाएको छ ।
२०औं वर्षदेखि सो ठाउँमा उनीहरू छाप्रो बनाएर बस्दै आएका थिए । महानगरले वैकल्पिक व्यवस्था नगरी वर्षायाममा छाप्रो भत्काएपछि बसोबासलाई लिएर समस्या भएको उनीहरूले बताएका छन् ।
महानगरपालिकाले यसअघि उनीहरूलाई स्वीमिङ पुल निर्माण गर्दा आदर्शनगरबाट सो ठाउँमा स्थानान्तरण गरेको थियो । अहिले विपी उद्यान निर्माणको लागि पर्खाल र ढलान कार्य हुँदैछ । यसका साथै उद्यान निर्माण डिपिआर अनुसार गर्ने योजना रहेको छ । सोही कारण छाप्रो हटाइएको हो ।
आज बिहानै विपी उद्यानमा रहेका छाप्राहरू डोजर चलाएर हटाइएको हो । यसअघि पनि तीन/चार पटक त्यहाँ रहेका छाप्रा हटाइएको थियो तर छाप्रा हटाइए पनि विपी उद्यानको निर्माण कार्य अगाडि बढेको छैन ।