प्रस, सेढवा, ५ साउन/
डिभिजन वन कार्यालय, पर्साले यस वर्ष पाँच लाख बिरुवा उत्पादन गरी एक सय हेक्टरमा वृक्षारोपण गर्ने बताएको छ ।
वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, सबडिभिजन वन कार्यालय वसन्तपुर, सबैया, रङ्गपुर, मनवालगायतमा बिरुवा उत्पादन भइरहेको र सो बिरुवालाई यस वर्ष करीब एक सय हेक्टर क्षेत्रफलमा रोपिने डिभिजन वन कार्यालय वसन्तपुरका प्रमुख सुमन पाण्डेले बताए । शिरीष, कपोप, टीक, अमला, सफेदालगायतका बिरुवा असार २० गतेदेखि नै निश्शुल्क वितरण शुरू भएको प्रमुख पाण्डेले बताए ।
कार्यालयमा बाँकी रहेका बिरुवाहरू पनि वितरण गरिने उनले बताए । डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँले यस वर्ष पाँच लाख बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
उत्पादन गरिएका बिरुवा ९० हेक्टर खाली जग्गामा डिभिजन वन कार्यालयले वृक्षारोपण गर्ने जानकारी गराए । गत वर्ष १ लाख १० हजार बिरुवा सर्वसाधारणलाई वृक्षारोपणका लागि वितरण गरिएको उनले बताए ।