प्रस, सर्लाही, ५ साउन/
करेन्ट लागेर सर्लाहीमा रामजानकी मठका पुजारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बसवरिया गाउँपालिका–६ सोहडवास्थित रामजानकी मठका पुजारी किशोरी दास वैरागी रहेको प्रहरीले जनाएको छ ।
विष्णु गाउँपालिका वडा नं ८ बत्रौल स्थायी घर भएका पुजारी वैरागीलाई मङ्गलवार भजनकीर्तनको लागि मन्दिरमा माइकको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । ६० वर्षीय वैरागीको घटनास्थलमैं मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
उनी उक्त रामजानकी मठमा बितेको ४५ वर्षदेखि पुजारी रहँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । पुजारीको मृत्युको खबरले सोहडवा गाउँ शोकमा डुबेको छ ।