प्रस, वीरगंज, ५ साउन/
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका अभियन्ता नारायण ढकालले हिन्दू राष्ट्र कायम गराउन सङ्गठित भएर लाग्नुपर्ने बताएका छन् ।
अभियानले वीरगंजमा आयोजना गरेको भेलामा बोल्दै उनले विश्वका १ अर्ब ३० करोड हिन्दूको आस्थाको केन्द्रको रूपमा नेपाल रहेको बताए । उनले नेपालमा ९४ प्रतिशत ओमकार परिवार रहे पनि चार/पाँच जना नेताले नेपाललाई धर्मनिरपेक्ष घोषणा गराएको आरोप लगाए ।
भेलामा विश्व हिन्दू परिषद्का राष्ट्रिय सङ्गठन मन्त्री प्रह्लाद रेग्मीले कर्तव्य र त्यागबाट नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन सकिने बताए । उनले दलगत स्वार्थभन्दा माथि उठेर एकजुट भएर अगाडि बढे मात्र नेपालमा हिन्दू राष्ट्र कायम गर्न सकिने बताए । भेलाले अभियानलाई सफल बनाउन वडा, नगर, पालिकास्तरीय सङ्गठन विस्तार गरी अगाडि बढ्न सुझाएको छ ।
हिन्दू स्वयंसेवक सङ्घ, पर्साका ललन द्विवेदीको अध्यक्षतामा भएको भेलामा विश्व हिन्दू परिषद्का जिल्ला अध्यक्ष ओमप्रकाश साह, उपाध्यक्ष कृष्णमोहन सहाय, रामराज्य परिषद्का जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, पण्डित पुरुषोत्तम दुबे, शङ्कराचार्य पीठका अध्यक्ष डा अनिल झालगायतको सहभागिता थियो ।