वयोधाले भिटिएम प्लास्टिकको झोलामा पठाउँछ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

राधेश्याम पटेल, वीरगंज, १४ भदौ/
    नारायणी वयोधा अस्पताल वीरगंजले कोरोनाका शङ्कास्पद बिरामीका परिवारजनबाटै नारायणी अस्पतालको पिसिआर ल्याबबाट भिटिएम मगाउने र स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाउने गरेको घटना सार्वजनिक भएको छ।
    नारायणी वयोधा अस्पतालको भेन्टिलेटरमा उपचाररत वीरगंज–१० आदर्शनगरका एकजना ७२ वर्षीय वृद्धको स्वाब सङ्कलन गर्न निजकै छोराबाट भिटिएम किट मगाएको र स्वाब सङ्कलन गरी प्लास्टिकको झोलामा राखी परीक्षणको लागि निजबाटै किट नारायणी प्रयोगशालामा पठाएको घटना सार्वजनिक भएको छ ।
    कुनै पनि अस्पतालले भिटिएम आफ्नै स्वास्थ्यकर्मीको माध्यमले कोल्ड चेन मेन्टेन गरी मगाउने र पठाउनुपर्ने नियम रहे तापनि वयोधा अस्पतालले उक्त नियम पालना नगरी चरम लापर्बाही गरेको नारायणी अस्पताल प्रयोगशाला स्रोतले बताएको छ।
    “कोल्ड चेन मेन्टेन नगरी लगिएको र पठाइएको स्वाब परीक्षण नगर्न निर्देशन छ, तर बिरामीका आफन्तजनले दुईपटक दुईवटा अस्पतालबीचको १० किलोमिटर दूरीको चक्कर लगाएपछि शनिवार उक्त स्वाब परीक्षण भएको नारायणी अस्पताल पिसिआर ल्याबका एकजना कर्मचारीले बताए। उनले भने, “सुविधासम्पन्न अस्पतालले यस्तो कार्य गर्नु सरासर गलत हो, यसले शङ्कास्पद बिरामीका परिवारजन र ओहोरदोहोर गर्दा सर्वसाधारणमा पनि सङ्क्रमण फैलिने खतरा हुन्छ।”
    बिरामीको स्वाब लिनुको मतलब त्यो व्यक्तिलाई शङ्कास्पद कोरोना सङ्क्रमित मानेर आइसोलेशनमा राख्नुपर्छ, उसको नजीक कोही जानुहुँदैन, तर अस्पतालले चिठी लेखेर परिवारका सदस्यबाटै भिटिएम मगाउने र स्वाब सङ्कलन गरेर परीक्षणको लागि निजबाटै पुनः नारायणीको प्रयोगशालामा पठाउने कार्य नरोके सरोकारवाला निकायले यसबारे छानबीन गरी दोषी अस्पताललाई कारबाई गर्ने नारायणी अस्पतालका एक चिकित्सकले बताए।
    नारायणी वयोधाले विगतमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा स्वास्थ्य कार्यालय पर्सासँग इजाजत नलिई शङ्कास्पद बिरामीको स्वाब सङ्कलन गर्ने र काठमाडौंमा परीक्षण गराउँदै आएकोमा जिल्ला प्रशासन कार्यालय, पर्साले उक्त कार्य बन्द गराएको थियो।
    शङ्कास्पद बिरामीका परिवारजनका अनुसार पिसिआर परीक्षणको लागि नारायणी वयोधाले प्रतिस्वाब परीक्षणको लागि रु ५ हजार ५ सय बिलमा जोडेर असुल गर्ने गरेको छ। जबकि उक्त स्वाबको परीक्षण नारायणी अस्पतालमा निश्शुल्क हुने गरेको छ।
    यस विषयमा व्यवस्थापन पक्षका शैलेन्द्र सिंहसँग कुरा गर्दा उनले कोल्ड चेन मेन्टेन गरी स्वाब पठाउने गरेको र परीक्षणबापत रकम लिने नगरेको दाबी गरे। उनले भने, “हामीले त्यसरी गरेका छैनौं, म बुझ्छु, यदि गलती भएको छ भने सुधार गर्छौं। परिवारजनबाट पठाउने गरेको कुरा सही हो, तर प्लास्टिकमा भिटिएम राखेर पठाएको विषयमा ल्याबका कर्मचारीसँग बुझ्छु।”

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस