प्रस, सिम्रौनगढ, ४ साउन
थारू समुदायका महिलाहरूले कङ्कालीमाईको पूजा शुरू गरेका छन् । तिथिले असार महीनाभरि सञ्चालन हुने यो पूजा अझै साउन १० गतेसम्म चल्नेछ ।
पूजा गरेर थारू समुदायले रोपाइँ शुरू गर्ने चलन रहेको ज्योतियादेवीले बताइन् । बारा, सिम्रौनगढ–७ स्थित शक्तिपीठ कङ्कालीमाईमा थारू समुदायका महिलाहरूले पूजा गर्दै आएका छन् । यो पूजा दौरवा, खोपवा, बिर्ता, जुअवा, बिसुनपूर्वा, बारागढी, मुसहर्ना, बाझोपट्टि, अमरपट्टि, कोल्हवी, शीतलपट्टि, बेलवा, धोधढपा, बतरालगायतमा बसोबास गर्ने थारू महिलाहरूले गर्दै आएका हुन् ।
सिम्रौनगढस्थित कङ्कालीमाई परिसरमा रहेको त्रिलोकीनाथ महादेव, पार्वती मन्दिर, ठाकुर मन्दिरलगायतका मन्दिरमा उनीहरूले पूजा गर्छन् । ठूलो सङ्ख्यामा महिलाहरू शुक्रवार र सोमवार यो पूजा गर्दै आएका छन् । यही दुई दिन सिम्रौनगढमा बजार पनि लाग्ने गर्दछ । पूजाको कारण असारभरि बजारको दिन फलफूल, तरकारी महँगोमा बिक्री भएको थियो ।