नयाँ दिल्ली, ४ साउन/एएनआई
भारतमा कोरोना भाइरसबाट थप ३८ हजार १६४ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमवार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ४४ हजारभन्दा बढी पुगेको छ ।
भारतमा अहिले पनि कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या चार लाख २१ हजार ६६५ रहेको अधिकारीले जनाएका छन् ।
पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण थप ४९९ जनाको मृत्यु भएको पनि मन्त्रालयले सोमवार जानकारी दिएको छ । कोरोना भाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १४ हजार १०८ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३८ हजार ६६० कोरोनामुक्त भएपछि भारतमा तीन करोड ३ लाख ८ हजार ४५६ व्यक्ति कोरोनामुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ५४ लाख २२ हजार २५६ जनाको स्वाब परीक्षण गरेको छ । तीमध्ये १४ लाख ६३ हजार ५३९ जनाको स्वाब परीक्षण जुलाई १७ का दिन भएको छ ।
त्यसैगरी, गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरू भएको थियो । सो समयदेखि अहिलेसम्म ४० करोड ६४ लाख ८१ हजार ४९३ वटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।