प्रस, वीरगंज, ३ साउन/
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको पहलमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित सूर्य नेपाल प्रालिले नारायणी अस्पतालमा ट्रान्सफर्मर जडानका लागि तीस लाख रुपैयाँ सहयोग गरेको छ ।
नारायणी अस्पतालमा भोल्टेजका कारण भइरहने विद्युत् समस्या समाधानका लागि ट्रान्सफर्मर जडान गर्ने नगरप्रमुख सरावगीको योजना मुताबिक आइतवार सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक प्रभाकर शाहले नगरप्रमुख सरावगीलाई तीस लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
प्रदेश नं २ कै सबैभन्दा ठूलो र पुरानो सरकारी अस्पतालमा विद्युत् आपूर्तिमा समस्या हुँदा उपचार प्रभावित हुँदै आएको थियो ।
सो समस्या समाधानका लागि ट्रान्सफर्मर जडान र अन्य व्यवस्थापनका लागि रकम सहयोग गरिएको सूर्य नेपालका प्रबन्ध निर्देशक शाहले बताए ।
नगरप्रमुख सरावगीले सूर्य नेपाल प्रालिलाई धन्यवाद दिंदै नारायणी अस्पतालमा विद्युत् समस्यालगायतका अन्य प्राविधिक तथा प्रशासनिक व्यवस्थापनमा सहयोग रकम उपयोगी हुने विश्वास व्यक्त गरे । उनले नारायणी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार शुरू भएदेखि अक्सिजन र भेन्टिलेटर सञ्चालन गर्दा विद्युत् अवरुद्ध भएर समस्या भएपछि सोको समाधानका लागि पहल गरेको बताए ।
चेक हस्तान्तरण कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्रबहादुर प्रधान, कोभिड संयोजक डा उदयनारायण सिंह, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलालगायतको सहभागिता थियो ।