राजेश केशरीवाल, रक्सौल, ३ साउन/
बिहार प्रादेशिक मारवाडी सम्मेलन रक्सौलमा सम्पन्न भएको छ । बैंक रोडस्थित सत्यनारायण मारवाडी पञ्चायती मन्दिरको सभाहलमा आयोजित सम्मेलनको उद्घाटन प्रान्तीय अध्यक्ष महेशकुमार जलानले गरेका थिए ।
बैठकका अध्यक्ष महेश अग्रवालले मारवाडी समाजको इतिहास तथा परम्परा समृद्धशाली र प्रभावशाली रहेको दाबी गरे । उनले मारवाडी समाजका पूर्वजहरूले संसारभर दुई सय वर्षअगाडिदेखि विभिन्न क्षेत्रमा गएर आफ्नो कर्मठता, इमानदारिता, लगनशीलताबाट राष्ट्र तथा समाज निर्माणमा अतुल्य भूमिका निर्वाह गरेको बताए । उनले रक्सौल क्षेत्रमा पनि मारवाडी समाजले सेवाभाव कार्य देखाउँदै आएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रFन्तीय अध्यक्ष महेशकुमार जलानले मारवाडी समाज जुनजुन ठाउँमा गएको छ, त्यहाँको व्यापार बढाएको छ, शहर चम्काएको छ भनी दाबी गरे । उनले आफ्नो समाजले खानपान, रहनसहनबाट समाजका अन्य मानिसको प्रगतिमा पनि सहायक बनेको बताए ।
उनले व्यापारिक क्षेत्रका साथै सरकारी क्ष्Fेत्रमा पनि मारवाडी समुदायको सहभागिता बढ्दै गए पनि राजनीतिमा पछि परेको हुनाले त्यसतर्फ पनि अग्रसरता देखाउन सुझाए ।
सत्यनारायण मारवाडी पञ्चायती मन्दिर ट्रस्टका अध्यक्ष कैलाशचन्द काबराले मारवाडी समाजको जनसङ्ख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले यथावस्थामा मारवाडी समाजको अवस्था पारसी जस्तो हुन सक्ने आशङ्का व्यक्त गरे ।
सम्मेलनमा गोविन्द मस्कराले साङ्गठनिक ढाँचा मजबूत गर्नको लागि आपसी सहयोगको भावना जागरूक गर्नुपर्ने बताए ।
त्यसैगरी, अर्का वक्ता पवनकुमार शर्माले मारवाडी समाजका छोरीको अन्य समाजसँग हुने वैवाहिक कार्यप्रति चिन्ता व्यक्त गरे । उनले आफ्नो समाजमा केटाभन्दा केटीको सङ्ख्या बढी भएकाले यो अवस्था आएको बताए ।
कार्यक्रममा रक्सौल एकाइ अध्यक्ष अग्रवाललाई कोरोनाकालमा उत्कृष्ट सेवा प्रदान गरेकोमा कर्मवीर सम्मानबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा उमेश सिकरिया, अमित बजाज, विजय अग्रवाल, सतीश वंशल, महेश छापरिया, रवि किशन, जगदीश अग्रवाल, कमल मस्करा, विशेष सिकरिया, रमेश धनोडिया, पुरुषोत्तम अग्रवाललगायतको सहभागिता थियो ।