प्रस, वीरगंज, ३ साउन/
जिल्ला प्रहरी कार्यालय पर्साले गत आव २०७७/७८ मा सातजना महिलासहित १८१ जना लागूऔषध मुद्दामा पक्राउ परेको जनाएको छ ।
जिप्रका पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले लागूऔषधमा १३३ वटा मुद्दा दर्ता भएको र सातजना महिलासहित १८१ जना पक्राउ परेको बताए । उनले यो अवधिमा ७८६ किलो गाँजा, १५३ किलो चरेस, ८ किलो अफिम र ६९ ग्राम हेरोइन बरामद भएको बताए ।
यसैगरी, ६४४४ थान फेनार्गन, ७२५३ थान डाइजेल्याब र ८८४१ थान नुरफिम बरामद भएको प्रउ पाण्डेले बताए ।
त्यस्तै, अवैध वित्तीय कारोबार हुन्डीमा २५ जना गत वर्ष पक्राउ परेको र उनीहरूबाट २ करोड १७ लाख १९ हजार ५२० रुपियाँ बरामद भएको प्रउ पाण्डेले बताए ।
हुन्डीका १६ वटा घटनामा २५ जना पक्राउ परेको उनले जानकारी गराएका छन् । गत वर्ष जिल्लामा ११७३ वटा मुद्दा दर्ता भएको र त्यसमा २० जना महिलासहित ९७६ जना नेपाली र एकजना महिलासहित ७४ जना विदेशी गरी कुल १०५० जना पक्राउ परेका र उनीहरूविरुद्ध मुद्दा चलाइएको बताए ।
यसैगरी, गत वर्ष ४० जना महिला, ६९४ जना पुरुष गरी ७३४ जना नेपाली र १३ जना विदेशी गरी कुल ७४७ जना फरार अवस्थामा रहेको प्रउ पाण्डेले बताए ।