प्रस, परवानीपुर, ३ साउन/

वीरगंज महानगरपालिकाले अभिभावकविहीन दुईजना बालिकाको जन्मदर्ता गरेको छ । अभिभावक नभएका बालबालिकाको हकमा राज्यले नै अभिभावकत्व ग्रहण गरी बाल अधिकारको सुनिश्चितता गर्नुपर्ने व्यवस्था रहेकाले महानगरका विभिन्न निकायको समन्वयमा जन्मदर्ता बनेको छ ।

साढे ८ वर्षीया आरती कुमारी र साढे ७ वर्षीया सरस्वती कुमारीको वीरगंज महानगर–९ का अध्यक्ष मनोज कलवार र पञ्जिकाधिकारी राजीव गिरीको सक्रियतामा जन्मदर्ता भएको हो ।
वीरगंजको घण्टारघरस्थित विपी उद्यानको सेडमा बस्दै आएका दुईजना बालिकालाई आठ महीनाअघि उद्धार गरी परवानीपुरस्थित आवर संसारमा राखिएको थियो ।

सानैमा अभिभावकको मृत्यु भएको र उनीहरू दैनिक मागेर गुजारा गर्दै आएका थिए ।

महानगरका बालमैत्री कार्यक्रमका फोकल पर्सन मुकेश गुप्ताको पहलमा जन्मदर्ता बनाउन प्रक्रिया अघि बढेको र ती बालिकाहरूले आफ्नो स्थायी ठेगाना पनि बताउन नसक्ने भएकाले उनीहरूको सूचकमा वीरगंज महानगरकी उपप्रमुख शान्ति कार्की बसेर जन्मदर्ता बनाएको आवर संसारका अध्यक्ष मुकेश साहले बताए ।

जन्मदर्ता बनेपछि अध्ययन गर्न तथा नागरिकता बनाउन भविष्यमा सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here