काठमाडौं, १४ भदौ/रासस
    नेपाली खेलाडी सन्दीप लामिछानेले दुर्ई विकेट लिएपछि उनी आबद्ध जमैका तलावाजलाई राहत मिलेको छ। क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत शनिवार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित ग–यो।
    शनिवारको खेलअघि जमैका र सेन्ट किट्स अङ्कतालिकाको पुछारमा थिए। जमैका अङ्कतालिकाको पाँचौं स्थानमा थियो भने सेन्ट किट्स अन्तिममा थियो। लिगको अन्तिम चारमा स्थान बनाइराख्नका लागि दुवै टोलीका लागि जीत आवश्यक थियो। सन्दीपको दुर्ई विकेटको मदतमा विजयी भएको जमैका जीतसँगै अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ। सेन्ट किट्स भने जमैकासितको हारसँगै अङ्कतालिकाको पुछारमैं सीमित बनेको छ। जमैकासितको हारले उसलाई अन्तिम चारमा रहनका लागि अब निकै सङ्घर्ष गर्नुपर्ने देखिन्छ। जमैकालाई भने सेन्ट किट्ससितको जीतले उपाधि होडमा रहिरहन सहज भएको छ।
    शनिवार छैटौं खेल खेल्दै सन्दीपले सेन्ट किट्सविरुद्धको खेलमा दुर्ई विकेट लिंदै ट्रिनिडाडमा जारी प्रतियोगितामा टिममा आफ्नो स्थान सुरक्षित राखे। सन्दीपले अहिलेसम्म विकेटविहीन हुनुपरेको छैन। उत्कृष्ट खेल प्रदर्शन गरेकै कारण जमैकाले हालसम्म खेलेका सबै खेलमा सन्दीपले खेल्ने अवसर प्राप्त गरेको हो। उनले हालसम्म छ खेलमा नौ विकेट लिएका छन्। सेन्ट किट्सविरुद्ध सन्दीपले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए। उनले इभेन लुइस र इस सोढीको विकेट लिएका थिए।
    टस जितेर जमैकाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर १४७ रन बनाएको थियो। १४८ रनको विजयी लक्ष्य पछ्याएको सेन्ट किट्सले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here