काठमाडौं, २ साउन/रासस

जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो । सनातन गोरक्ष राष्ट्र नेपालले शनिवार गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गरे ।

सो अवसरमा पण्डित पोखरेलले शासकले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभाजन गरेको भन्दै मानव जातलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पुजारी बनाइएको बताए । “पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोजिएको छ, यसप्रति सबै सजग हुनुपर्छ,” उनले भने ।

पण्डित पोखरेलले छुवाछूत र विभेदमुक्त समाज निर्माणका लागि भागवत सप्ताहमार्फत अभियान सञ्चालन गरिरहेका अवस्थामा पण्डित नारायणप्रसाद पोखरेलको हत्या भएको स्मरण गरे ।

सनातन गोरक्ष राष्ट्र नेपालका संयोजक अर्जुन रानाले सीप र कलाको धनी दलित समुदायलाई राम्रो व्यवहार गरेमा देशको विकासले गति लिने बताए । विसं २०७५ मा स्थापना भएको सनातन गोरक्ष राष्ट्र नेपालले विभेदमुक्त समाज निर्माणका लागि देशभर अभियान सञ्चालन गर्दै आइरहेको अध्यक्ष रानाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here