प्रस, वीरगंज, १ साउन/
सङ्घीय सांसद प्रदीप यादवले शुक्रवार वीरगंज उद्योग वाणिज्य सङ्घलाई २१ थान सिसिटिभी क्यामरा हस्तान्तरण गरेका छन् ।
सङ्घमा आज आयोजित कार्यक्रममा १० लाख मूल्यबराबरको २१ थान सिसिटिभी क्यामरा सांसद यादवले सङ्घका अध्यक्ष सुबोध गुप्तालाई हस्तान्तरण गरे ।
सो अवसरमा सांसद यादवले संसदीय कोषबाट वीरगंजलाई विभिन्न खाले अपराधबाट सुरक्षित राख्नको लागि र प्रहरी प्रशासनका साथै आम नागरिकको हितमा काम गर्नको लागि सिसिटिभी क्यामरा हस्तान्तरण गरेको बताए । उनले वीरगंजका थुप्रै ठाउँमा सिसिटिभी क्यामरा बिग्रिएर ती क्षेत्रमा निगरानी कमजोर भएको हुँदा सुरक्षा व्यवस्थामा थप सहयोग पु¥याउन आफूले उपलब्ध गराएको बताए ।
सो अवसरमा सांसद यादवले रजतजयन्ती चोकदेखि परवानीपुरचोक हुँदै सुक्खा बन्दरगाहसम्म ट्राफिक सिग्नलको व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरे । सङ्घका अध्यक्ष गुप्ताले उपलब्ध सिसिटिभी अविलम्ब जडान गरिने बताए । उनले वीरगंजको शान्ति सुरक्षाको लागि वीरगंजमा जडान भएका सिसिटिभी क्यामराको निगरानीमा थप जनशक्तिको आवश्यकता भएको बताए ।
कार्यक्रममा उपाध्यक्ष हरि गौतम, माधव राजपाल, गोविन्द शाह, प्रेमचन्द्र गोयल, सुशान्त चाचान, अनुज रूँगटा, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेलगायतको सहभागिता थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव मनोजकुमार दासले सहजीकरण गरेका थिए ।
हाल वीरगंजमा ५२ वटा सिसिटिभी क्यामरा चालू अवस्थामा छन् भने १५ वटा काम नलाग्ने गरी बिग्रिएका र १५ वटाको मरम्मत भइरहेको जनाइएको छ ।