नितेश कर्ण, वीरगंज, १ साउन/

पर्सा जिल्लामा गत वर्षको तुलनामा ९२ वटा अपराधका घटना बढेका छन् । गत वर्ष विभिन्न शीर्षकमा १०८१ वटा मुद्दा दर्ता भएका थिए भने यस वर्ष ११७३ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

गत वर्षको तुलनामा सार्वजनिक शान्तिविरुद्धको कसूर मुद्दामा केही कमी आएको छ । गत वर्ष यो शीर्षकमा ३६५ वटा मुद्दा दर्ता भएका थिए भने यस वर्ष ३४६ वटा मुद्दा दर्ता भएका छन् । त्यसैगरी, बैंकिङ कसूरमा गत वर्षको तुलनामा यस वर्ष कमी आएको छ । गत वर्ष ९० वटा मुद्दा दर्ता थिए भने यस वर्ष ७२ वटा मुद्दा दर्ता छन् ।

लागूऔषधमा यस वर्ष गत वर्षको तुलनामा मुद्दा बढेका छन् । गत वर्ष १११ वटा मुद्दा दर्ता भएका थिए भने यस वर्ष १३३ वटा मुद्दा दर्ता भएका छन् । चोरीका घटनामा पनि यस वर्ष वृद्धि भएको छ । गत वर्ष ६९ वटा घटना भएका थिए भने यस वर्ष ९० वटा दर्ता भएका छन् । वित्तीय कारोबार हुन्डीमा गत वर्षको तुलनामा यस वर्ष कमी आएको छ ।

गत वर्ष २४ वटा मुद्दा दर्ता भएका थिए भने यस वर्ष १६ वटा दर्ता भएका छन् । नागरिकतासम्बन्धी मुद्दामा यस वर्ष व्यापक वृद्धि भएको छ । गत वर्ष १० वटा मुद्दा दर्ता भएका थिए भने यस वर्ष ६७ वटा मुद्दा दर्ता भएका छन् ।

जबरजस्ती करणीको मुद्दामा गत वर्षको तुलनामा यस वर्ष एउटा मात्र मुद्दा बढी दर्ता भएको छ। गत वर्ष ३९ वटा मुद्दा दर्ता भएका थिए भने यस वर्ष ३८ वटा दर्ता भएका छन् । ज्यानसम्बन्धी मुद्दा बढेको छ ।

गत वर्ष २६ वटा मुद्दा दर्ता भएका थिए भने यस वर्ष ३६ वटा मुद्दा दर्ता भएका छन् । सवारी ज्यान मुद्दामा पनि गत वर्षको तुलनामा यस वर्ष १२ वटा बढी दर्ता भएका छन् । गत वर्ष २० वटा दर्ता थिए भने यो वर्ष ३२ वटा दर्ता छन् ।

भवितव्य ज्यान मुद्दा घटेको छ । गत वर्ष ७१ वटा भएका थिए भने यस वर्ष ४९ वटा दर्ता भएका छन् । तर आत्महत्याका घटना बढेका छन् । गत वर्ष झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या ६६ थियो भने यस वर्ष १०२ पुगेको छ । कर्तव्य ज्यान मुद्दा पनि गत वर्षको तुलनामा दुईवटा बढेको छ । गत वर्ष १५ वटा दर्ता भएका थिए भने यस वर्ष १७ वटा दर्ता भएका छन् ।

८० जना फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय, पर्साले यस वर्ष ८० जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले गत साउनदेखि असारसम्म ८० जना फरार अभियुक्तलाई पक्राउ गरी अदालत बुझाएको र कसूर अनुसार सजाय दिलाएको बताए ।

यसैगरी, यस वर्ष ७८ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको र कसूर अनुसारको सजाय, जरिवाना भएको बताए ।

चालू आवमा फरार अभियुक्त र अपराधी तथा फरार प्रतिवादी गरी ९६ वर्ष ६ महीना २२ दिन कैद सजाय भएको र ७२ लाख ८६ हजार ६५७ जरिवाना असूल भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here