काठमाडौं, १ साउन/रासस
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा नै उल्लेख गरे अनुसार प्राधिकरणले साउन १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडिएमएस) जडान गरेको हो । लामो समयको तयारीपश्चात् आजदेखि उक्त प्रणाली जडान गरिएको हो ।
प्राधिकरणले मोबाइल सेटको आयातपूर्व अनिवार्यरूपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आइएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएको जनाएको छ ।
प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै एमडिएमएस सिस्टम लागू भएपनि हाल सञ्चालनमा रहेका मोबाइल फोन सञ्चालनमा कुनै अवरोध नहुने जनाएको छ ।
“पहिलो चरणमा व्यावसायिक आयातकर्ताले मोबाइल आयात गर्दा आइएमइआई रजिस्ट्रेशन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको छ, उक्त प्रणालीलाई क्रमशः पूर्णरूपमा लागू गरी मोबाइलको आयात एवं प्रयोगलाई थप व्यवस्थित, भरपर्दाे र सुरक्षित बनाइनेछ,” सूचनामा भनिएको छ ।
एमडिएम प्रणालीले कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने काम गर्छ ।