प्रस, वीरगंज, ३१ असार/
बालविवाह गर्ने बेहुला र तिनका अभिभावकसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पकाहामैनपुर गाउँँपालिका– १ धोरे बस्ने २४ वर्षीय बेहुला विशाल सहनी, निजका बुवा ६५ वर्षीय ठग सहनी र बारा, परसौनी गाउँपालिका–५ बेलहिया पन्टोका बस्ने ४८ वर्षीय महेश सहनीलाई पर्सा प्रहरीले बालविवाह गरेको–गराएको कसूरमा पक्राउ गरेको छ ।
१८ वर्षीया किशोरीसँग विशालको बिहे असार १७ गते धोरे गाउँस्थित भुटनदेवीमाई मन्दिरमा भएको थियो । किशोरीले बालविवाह गर्न नचाहेको तर अभिभावकले जबर्जस्ती विवाह गराएको उजूरी प्रहरीमा परेपछि सोविरुद्ध कारबाई प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
बालविवाह गर्ने/गराउने कार्य भएकोले सोमा संलग्न तीनजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले जानकारी गराए । प्रउ पाण्डेले मुलुकी अपराध संहिताको दफा १७३ मा २० वर्ष नपुगी विवाह गर्ने/गराउने कसूरवार ठहर हुने भएकाले सोही कसूर अनुसार वैवाहिक सम्बन्ध बदर गरी कारबाई प्रक्रिया अगाडि बढाएको बताए । यो अभियोगमा अभियुक्तहरूलाई ३ वर्षसम्म कैद र तीस हजार रुपियाँँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।