महोत्तरी, ३१ असार/रासस
अहिले सञ्चित रकम पछि काम लाग्ने आसले सहकारीमा बचत गरेका महोत्तरीको बर्दिवासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो ।
“भोलिको दुःखको साथी हुने आसमा बचत ग¥यौं भन्ने थियो, तर सहकारीको कार्यालय र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएको छ”– स्थानीय रामकुमार श्रेष्ठले भने–“हामी ठगिएछौं, रु दुर्ई लाख बचत फिर्ता पाउनुपर्नेछ, दुर्ई वर्षदेखि आफ्नो रकम खोज्दै हैरान छौं ।”
उहाँजस्ता सयौं बचतकर्ता अहिले आफ्नो रकम खोजी गरिदिन बर्दिवास सहकारी सञ्जाल, बर्दिवास नगरपालिकाको सहकारी शाखा र अरू विभिन्न निकायमा दौडिरहेका भेटिन्छन् । बर्दिवासमा सञ्चालित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय हटाइएको छ ।
सञ्चालक बर्दिवास–१ कै बासिन्दा नीरकमल कार्की पनि नभेटिएपछि बचतकर्ता मात्र नभएर बचत सङ्कलक पनि अप्ठ्यारोमा परेका छन् । विसं २०७६ चैतदेखि संस्था र सञ्चालक सम्पर्कविहीन भएको सोही संस्थामा बचत सङ्कलनकर्ता भएर काम गरेकी जानुकाकुमारी तामाङ बताउँछिन् ।
“दैनिक बचत रकम सङ्कलन गर्न त हामी सङ्कलक पुग्थ्यौं”–उनले भनिन्–“त्यसैले बचतकर्ताको पहिलो भनाइको चोट हामीले खेप्नुपर्छ ।” आफूले सङ्कलन गरेको करीब रु ५० लाख बचत फिर्ता दिन बाँकी रहेको उनको भनाइ छ ।
पछिल्लोपटक संस्था र सञ्चालक दुवै नभेटेपछि बचतकर्ता हारगुहार माग्दै नगरपालिका र सहकारी सञ्जाल पुगेपछि यो घटना सार्वजनिक भएको हो । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विसं २०७४ देखि कारोबार शुरू गरेर २०७६ चैतदेखि सम्पर्कमा नआएको बचतकर्ता र बचत सङ्कलक बताउँछन् ।
नगरको सहकारी शाखा र सञ्जाल दुवैले समन्वयको प्रयत्न गरे पनि संस्था सञ्चालक कार्की बचतकर्ताको रकम दिन आनाकानी गरिरहेका छन् । “बचतकर्ता र बचत सङ्कलकको गुनासो बुझ्न सञ्चालक कार्कीसँग सम्पर्क गरियो”–सञ्जालका अध्यक्ष शङ्कर श्रेष्ठले भने– “उहाँले पटकपटक बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएर पनि फिर्ता भने गर्नुभएन ।” सो सहकारी संस्था सञ्जालमा आबद्ध नभएको र आफ्नो संस्था न्यायिक निरूपण गर्ने नभएको हुँदा नगरपालिका जान बचतकर्तालाई सुझाएको उनको भनाइ छ ।
नगरपालिकाले दुईतीनपटक सञ्चालक कार्कीलाई खोजेर समन्वयात्मक छलफल चलाए पनि समाधान भने नभएको शाखाकी समन्वयकर्ता प्रेमा कार्कीले जानकारी दिइन् । “हामीसँग भएको छलफलमा सञ्चालक कार्कीले बचतकर्ताको रकम दिनपर्ने स्वीकार त गर्नुभयो”–उनले भनिन्–“तर रकम फिर्ता गर्न उहाँले लिनुभएको समय बराबर फेल भयो ।”
बचतकर्ताको रकम कार्यालयबाट गोलमाल भएको स्विकार्ने सञ्चालक कार्कीले सो रकम फिर्ता गर्न सहमति जनाए पनि रकमको जोहो हुन नसकेको जनाउँदै समय लम्ब्याउने गरेका बताइएको छ । आफ्नो पासबुकसहितका कागजात सबै संस्थाको कार्यालयमा बुझाएको र अब आफूहरूसँग कुनै प्रमाण नरहेको हुँदा बचतकर्ता बचत फिर्ता पाउनेमा अन्योलमा छन् ।
यसैबीच नगरपालिकाले संस्था सञ्चालक कार्कीलाई तीन दिनभित्र बचतकर्ताको सबै हरहिसाब पेश गरेर रकम फिर्ता नगरे कारबाईका स्थानीय प्रशासन र प्रहरी कार्यालयमा अनुरोध गर्ने जनाएको छ ।
संस्थाले हरहिसाब नै नदेखाएपछि कति रकम फिर्ता गर्नुपर्ने यकीन नभए पनि बचतकर्ता र सङ्कलकको भनाइबाट रु एक करोड ५० लाखभन्दा बढी बचतकर्ताको रकम हिनामिना भएको अनुमान गरिएको शाखाले जनाएको छ ।