सोल ३१ असार/सिन्हवा/रासस
द. कोरियामा कोभिड–१९ सङ्क्रमित सङ्ख्या बढ्दै गएको छ । अधिकारीहरूले शनिवार कोभिड– १९ को चौथो वेभ शुरू भएको बताएका थिए ।
अधिकारीहरूका अनुसार गएको २४ घण्टा यताको तथ्याङ्क हेर्दा कोभिड–१९ सङ्क्रमित एकै दिन एक हजार ६०० जना भेटिएका छन् ।
हुनत अघिल्लो दिनको तुलनामा १५ जना घटेका छन् । मङ्गलवार १६१५ जना भेटिएका थिए । यहाँ गएको छ महीनापछि एकैपटक यति धेरै सङ्क्रमित पहिलोपटक देखिएका हुन् । गएको दश दिनदेखि निरन्तर कम्तीमा एक हजारजना सङ्क्रमित देखिएका छन् ।
योसँगै द. कोरियामा कोभिड सङ्क्रमितको सङ्ख्या १,७३,५११ पुगेको छ । पछिल्ला केही हप्तादेखि कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ । पछिल्ला हप्ता यसरी सङ्क्रमितको सङ्ख्या बढेपछि द. कोरियाका स्वास्थ्य अधिकारीहरूले कोभिडको चौथो वेभ शुरू भएको बताएका हुन् ।
द. कोरियाको स्वास्थ्य मन्त्रालयले जुलाई १ देखि देशैभरि सङ्क्रमितको सङ्ख्या बढेको बताएको छ । यहाँ पछिल्ला केही दिनयता देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५५ प्रतिशत बढी देखिएको छ ।