प्रस, परवानीपुर, ३० असार
निषेधाज्ञा खुकुलो हँुदै गएपछि हलुका सवारीसाधनहरू चल्न थालेका छन् । सार्वजनिक यातायातका सवारीसाधनमा लामो दूरीका बस मात्र चलेका छन् । बाँकी जिल्लाभित्र छोटो दूरीका लागि म्याजिक भ्यान, अटो, ईरिक्शालगायतका सवारीसाधन असारको दोस्रो सातादेखि पर्सा र बारा जिल्लामा सञ्चालनमा छन् । तर ती सवारीसाधनले निषेधाज्ञाको निहँुमा भाडा बढाएका छन् ।
यात्रीहरूका अनुसार वीरगंज बजार क्षेत्र, वीरगंज–पथलैया रूटमा, वीरगंज–कलैया, घण्टाघर–मितेरी पुल, वीरगंज–पोखरिया सडकखण्डमा चल्ने हलुका सवारीसाधनले ५० प्रतिशतले भाडा बढाएको यात्रीहरूको गुनासो छ । वीरगंज–३१ बेलवाका नवलकिशोर झाका अनुसार पहिले वीरगंजदेखि जीतपुरसम्म म्याजिक भ्यानले ४० रुपियाँमा लैजान्थ्यो भने अहिले एकजनाको ६० रुपियाँ लिइन्छ ।
म्याजिक भ्यान र अटोले व्यक्तिपिच्छे दूरीको आधारमा मनपरी भाडा असुलिरहेका छन् ।
त्यसैगरी, वीरगंज–१३ राधेमाईका जय साहले वीरगंज बजारमा पनि अटो तथा ईरिक्शाले पहिलेभन्दा महँगो भाडा लिइरहेको गुनासो गरे । वीरगंजबाट पर्साका ग्रामीण भेग र बाराको सदरमुकाम कलैया जाने सडकखण्डमा पनि भाडा बढेको यात्रीहरूको भनाइ छ । उनीहरूले स्थानीय प्रहरी प्रशासनले लापरवाही गर्दा हलुका सवारीसाधनले आफूखुशी भाडा बढाएर यात्रीहरूलाई ठगिरहेको आरोप लगाए ।
यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले यसबारे आफूलाई जानकारी नभएको बताए । उनले पर्सा प्रहरीले पर्साको क्षेत्रबाट सञ्चालित सवारीसाधनले तोकिएको भाडाभन्दा बढी लिइरहेको पाइएमा कारबाई गर्ने बताए । उनले ठाउँ–ठाउँमा मातहतको टोलीलाई बढाइएको भाडाबारे निर्देशन दिइसकेको र बढी भाडा लिनेहरूलाई कानूनबमोजिम कारबाई हुने बताए ।