प्रस, वीरगंज, ३० असार

वीरगंज उद्योग वाणिज्य सङ्घले प्रदेश २ का खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मालाई स्वागत तथा सम्मान गरेको छ ।

मङगलवार वीरगंजको दियालो लड्र्स प्लाजामा आयोजित कार्यक्रममा वीउवासङ्घका अध्यक्ष सुबोध गुप्ताले प्रदेशमन्त्री शर्मालाई स्वागतसहित सम्मान गरेका थिए । शर्मा वीउवासङ्घका पूर्वअध्यक्ष पनि हुन् ।

कार्यक्रममा मन्त्री शर्माले आफूलाई अहिलेसम्म बस्ने कोठा र चढ्ने गाडीसमेत उपलब्ध नभएको गुनासो गरे । उनले अर्कै मन्त्रालयको कोठा र भाडाको गाडी प्रयोग गरिरहेको बताए ।

मन्त्री शर्माले आफ्नो मन्त्रालयमा ३५ करोड बजेट रहेको र आठवटै जिल्लाका समस्या पूरा गर्नुपर्ने दायित्व रहेको बताए । उनले आफूले आठवटा जिल्लामा खानेपानी नपुगेको ठाउँमा ओभरहेड टङ्की बनाएर पानी उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेको र आत्माराम ओझाको नाममा नोजल परियोजना सञ्चालन गर्ने बताए ।

मन्त्री शर्माले बारा, अमलेखगंजवासी लामो समयदेखि खानेपानीको सुविधाबाट वञ्चित भएकाले उनीहरूलाई सो उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे । उनले प्रदेश सरकारले ल्याएको बस र वारुणयन्त्र त्यत्तिकै थन्केका हुनाले वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा दमकल र वीरगंज–पथलैया बस सञ्चालन गराउन वीउवासङ्घलाई पहल गर्न आग्रह गरे ।

कार्यक्रममा नगरप्रमुख विजयकुमार सरावगी, उद्योग वाणिज्य सङ्घ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, जिल्ला अध्यक्ष अनुप तिवारी, वीउवासङ्घका पूर्वअध्यक्षहरू अशोक बैध, अशोक टेमानी, गोपाल केडियालगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत वीउवासङ्घका अध्यक्ष गुप्ता र सहजीकरण मनोज उपाध्यायले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here