नयाँ दिल्ली, ३० असार/एएनआई
भारतमा कोरोना भाइरसबाट थप ३८ हजार ७९२ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङख्या फेरि बढेको हो । अघिल्लो दिन ३१ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
त्यसैगरी, कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ४१ हजारजना सङ्क्रमणमुक्त भएका छन् । नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङख्या धेरै रहेकाले सङ्क्रमित अवस्थामैं रहेकाहरूको कुल सङख्या पनि कम भएको छ ।
भारतमा अहिले पनि कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङख्या चार लाख २९ हजार ९४६ रहेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण थप ६२४ जनाको मृत्यु भएको पनि मन्त्रालयले बुधवार जानकारी दिएको छ ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङख्या तीन करोड नौ लाख ४६ हजार ७४ पुगेको छ भने तीमध्ये तीन करोड एक लाख चार हजार ७२० जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना भाइरसबाट मृत्यु भएकाहरूको कुल सङख्या भारतमा अहिलेसम्म चार लाख ११ हजार ४०८ पुगेको मन्त्रालयले जनाएको छ ।
भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४३ करोड ५९ लाख ७३ हजार ६३९ जनाको स्वाब परीक्षण गरिएको छ । तीमध्ये १९ लाख १५ हजार ५०१ जनाको स्वाब परीक्षण जुलाई १३ का दिन भएको छ ।
त्यसैगरी, भारतमा अहिलेसम्म ३८ करोड ७६ लाख ९७ हजार ९३५ वटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । तीमध्ये ३७ लाख १४ हजार ४४१ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।
कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङख्या ४० लाख ४८ हजार नाघ्यो
बेइजिङ/सिन्ह्वा
कोरोना शुरू भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङख्या ४० लाख ४८ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा ४० लाख ४८ हजार ९०३ जनाको मृत्यु भएको छ । विश्वभरि कुल सङ्क्रमितको सङख्या १८ करोड ७७ लाख ९८ हजार ८५५ जना रहेका छन् । विश्वभर तीन अर्ब ४९ करोड ५२ लाख ४१ हजार ४८० मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । रासस
सिड्नीमा लकडाउनको समयावधि फेरि थप
सिड्नी/सिन्ह्वा
अस्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । सरकारी अधिकारीहरूले बुधवार दिएको जानकारी अनुसार बृहत् सिड्नी क्षेत्रभरि थप दुर्ई हप्ता लकडाउन लागू गर्ने निर्णय भएको हो ।
नयाँ थप गरिएको समयावधि अनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागू हुने भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ ।
“हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समीक्षा गरेका छौं, सङ्क्रमण अझै पनि पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको हो,” स्वास्थ्य मन्त्रालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
लकडाउनमा लागू हुने नियमहरूलाई कडाइका साथ पालना गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीहरूले सबैलाई आग्रह गरेका छन् ।
लकडाउनको समयावधि थप भएपछि विद्यार्थीहरूको अध्ययन अध्यापन कार्य पनि अझै केही दिन अनलाइनबाट नै हुने भएको छ । रासस