प्रस, वीरगंज, २९ असार/
वीरगंज महानगरपालिकामा ३० जनाभन्दा बढी बालबालिका प्लास्टिकजन्य पदार्थ सङ्कलनमा खटाइएका छन् ।
कबाडको काममा संलग्न व्यवसायीले दैनिक रु २ सय दिएर यी बालबालिकाहरूलाई प्लास्टिकजन्य पदार्थ सङ्कलनमा खटाएका हुन् । यो काममा अहिले भारतीय बालबालिकाहरू रहेको पाइएको छ ।
यी बालबालिकाहरूलाई वीरगंज महानगरपालिकाले सञ्चालन गरेको बाल हेल्पलाइनले पनि उद्धार गरेको छैन । यी बालबालिकाहरू दैनिक एकाबिहानैदेखि प्लास्टिकजन्य पदार्थ सङ्कलनको लागि महानगरको मुख्य सडकलगायतका स्थानमा खट्छन् । उनीहरूले सङ्कलन गरेको प्लास्टिकजन्य पदार्थ कबाडमा बुझाउँछन् । सङ्कलित कबाड भारतमा पु¥याइन्छ ।
करीब डेढ वर्षदेखि नेपाल–भारत सीमा कोभिडको कारण सिल छ । यो अवस्थामा कबाड व्यवसायीहरूले यिनै बालबालिकामार्फत कबाडका सामान भारत पु¥याउने गरेका छन् । सुरक्षाकर्मीले बालबालिका भएको कारण आवतजावतमा खासै अवरोध गर्दैनन् । वीरगंज महानगरको प्लास्टिकजन्य फोहरमध्ये २५ प्रतिशत यी बालबालिकाहरूले सङ्कलन गर्दै आएको अनुमान गरिएको छ ।
बालबालिकाहरूबाट कबाड व्यवसायीहरूले यस्तो काम गराएकोविरुद्ध बेलाबखत आवाज उठ्दै आए पनि नियन्त्रणको प्रयास भएको छैन । कबाड व्यवसायीहरूले बालबालिकाको प्रयोगमा रोक लगाए आन्दोलन गर्ने चेतावनी दिएपछि उनीहरूलाई निर्बाध काम गर्न दिइएको छ ।
महानगरले होटल व्यवसायमा बालबालिकाको प्रयोग रोक्दै आए पनि फोहर सङ्कलन गर्ने बालबालिकाहरूलाई भने उद्धार गर्न सकेको छैन ।