मकवानपुर, २९ असार/रासस
मकवानपुरका फरक दुर्ई स्थानमा मङ्गलवार बिहान दुर्ईजना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहान करीब ५ः३० बजेको समयमा बकैया गाउँपालिका–३ स्थित बकैयाखोला पुलको रडमा सलको पासो लगाइ झुन्डिएको अवस्थामा दाङ बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ वर्षीय भीमबहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार मृतक खत्री स्थानीय क्रसर उद्योगमा मजदूरी गर्दै आएका थिए ।
त्यसैगरी, हेटौंडा उपमहानगर–२ सङ्गमचोकस्थित आफ्नै डेरामा एकजना पुरुष मृतावस्थामा फेला परेका छन् ।
दैनिक ज्याला मजदूरी गरी जीवनयापन गर्दै आएका डिके भनिने करीब ५० वर्षीय पुरुषको शव बिहान ७ः०० बजे फेला परेको प्रउ रिमालले जानकारी दिए । डिके भनिने पुरुषको थप पहिचान खुल्न सकेको छैन ।
दुवै शव शल्यपरीक्षणका लागि हेटौंडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।