प्रस, वीरगंज, २९ असार/
जिल्ला प्रशासन कार्यालय, बाराले मङ्गलवारदेखि निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाण्डेले सूचना जारी गर्दै वैशाख २३ गतेदेखि जिल्लामा लगाइएको निषेधाज्ञा सोमवारको बैठकले हटाइएको जानकारी गराए ।
उनले निषेधाज्ञा हटाएसँगै सबै प्रकारका पेशा, व्यवसाय, पसल तथा सवारीसाधन पूर्ववत्रूपमा स्वास्थ्य सुरक्ष्Fा मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने बताए ।
यसैगरी, शिक्षण संस्था सञ्चालनको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सिसिएमसीबाट पारित भएका शिक्षण संस्था सञ्चालनसम्बन्धी कार्यविधि अनुसार सम्बन्धित स्थानीय तहले आवश्यक समन्वय गरी उपयुक्त व्यवस्थापन गर्ने निर्णय भएको बताए ।
यता, पर्सा जिल्लामा भने निषेधाज्ञा अवधि अर्को व्यवस्था नहुन्जेलसम्मको लागि जारी छ । वैशाख १६ गतेदेखि पर्सा जिल्लामा निषेधाज्ञा लागू भएको र प्रत्येक साता निषेधाज्ञा बढाउँदै अहिले अनिश्चितकालीन निषेधाज्ञा जारी छ । यसअघि, असार २० गते बसेको बैठकले मिति नतोकी निषेधाज्ञा जारी गरेको थियो । तर यो अवधिमा जिल्लाभरि सार्वजनिक सवारीसाधन, पसल, व्यवसाय खुला गरिएको छ ।
अहिले पर्सा जिल्लामा शिक्षण संस्था सञ्चालनमा छैनन् । यससम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट भएको खण्डमा मात्र जिल्लामा शैक्षिक संस्था खोलिने अनुमान गरिएको छ ।