नितेश कर्ण, वीरगंज, २७ असार/
पर्सा जिल्लामा रहेका १ हजार ७० वटा सीमास्तम्भमध्ये यसपालिको बाढीले तीनवटा सीमास्तम्भ बगाएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले यसपालिको बाढीले वीरगंजदेखि ठोरीसम्म १०७ किलोमिटर लामो सीमामा रहेका तीनवटा सीमास्तम्भ बगाएको उनले बताए ।
उनले नापी कार्यालयको तथ्याङ्क अनुसार १ हजार ७० वटा सीमास्तम्भ हुनुपर्नेमा ११ वटाको यकीन नभएको र १ हजार ५९ वटा पिलरमध्ये तीनवटा बगाएको बताए ।
भारतसँग सीमा जोडिएको पर्सा जिल्लामा ४९ वटा जड्डे पिलर, ६९ वटा मझौला पिलर र ९४१ वटा सानो पिलर रहेको तथ्याङ्क छ । यसमध्ये छवटा जड्डे पिलर, दुईवटा मझौला पिलर र ११ वटा सानो पिलर मरम्मत गर्नुपर्ने अवस्थामा रहेको प्रवक्ता खनालले बताए ।