प्रस, जनकपुरधाम, २७ असार/
धनुषाको एक युवकलाई प्रहरीले काठमाडौंको बानेश्वर कात्यानी चोकबाट पेस्तोलसहित पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका वडा नं २ विद्यानगर घर भई काठमाडौं बसुन्धारा बस्दै आएका ३१ वर्षीय जयप्रकाश महतो पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा नं ३१ कात्यानी चोक इलाकामा हतियार खरीद–बिक्री गर्न हिंडिरहेको विशेष सूचना पाएको प्रहरीले पिछा गर्दै जाँदा हतियारसहित पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।
पक्राउ परेका महतोलाई जिल्ला अदालत बबरमहलबाट ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सर्लाहीमा प्रहरीले दुई थान इटालियन पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको ब्रहमपुरी–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, सोही ठाउँका २० वर्षीय नुरआलम मन्सुर र १९ वर्षीय इमरान रानाभाट छन् ।
भारतीय नम्बर अङ्कित एउटै मोटरसाइकलमा सवार तीनजनालाई ब्रहमपुरी गापा–२ बाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । पक्राउ परेकाहरूको साथबाट दुई थान इटालियन पेस्तोल, त्यसमा प्रयोग हुने १७ राउन्ड गोली र दुई थान छुट्टै म्यागजिन बरामद भएको थियो । पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको प्रहरीले जनाएको छ ।