प्रस, जनकपुरधाम, २७ असार/

प्रदेश नं २ प्रदेशसभाको बैठक फेरि अवरुद्ध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बजेटका शीर्षकप्रति आपत्ति जनाउँदै आइतवार पुनः बैठक अवरुद्ध गरेका हुन् ।

यसअघि संसदीय विकास कोषको बजेटमा असन्तुष्टि जनाउँदै गरिएको संसद्को अवरोध सहमतिमा सञ्चालन भएपनि दुवै दलका सांसदहरूले फेरि अर्को विषय उठाएर संसद् अवरुद्ध गरेका हुन् । आइतवारको बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका सांसद सुन्दरबहादुर विश्वकर्माले बजेट प्रदेशको नभई कुनै नगरपालिका र निर्वाचन क्षेत्रमुखी देखिएको भन्दै सुधार नगरिएसम्म बैठक बस्न नदिने बताए ।

बजेटले प्रदेशको बासिन्दामाथि कुठाराघात गरेको उनको आरोप थियो । त्यसैगरी, माओवादी केन्द्रका सांसद दिलीप साहले मन्त्रीहरूले आआफ्नो क्षेत्रमा मनोमानी तरीकाले बजेट राखेको भन्दै विरोध गरे । भ्रष्टाचार गर्न अनुकूल स्थान र शीर्षक मिलाएर बजेट विनियोजन गरेको उनको आरोप थियो । यसलाई नसच्याएसम्म बैठक बस्न नदिने साहले बताए ।

विपक्षी सांसदको अवरोधपछि सभामुख सरोजकुमार यादवले बैठक स्थगित गरेका थिए । यसअघि विपक्षी सांसदले बजेट भाषण लगत्तै १ असारमा बसेको दोस्रो बैठक अवरुद्ध गरेका थिए । संसदीय विकास कोषको रकम वृद्धि गर्नुपर्ने माग राख्दै उनीहरूले बैठक अवरुद्ध गरेपछि असार २५ गतेदेखि सरकार र विपक्षी सांसदबीच सहमतिमा बैठक सञ्चालन भएको थियो ।

त्यसअघि १५ असार र २३ असारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here