आफ्नै ठाउँमा पिसिआर परीक्षण हुन थालेपछि उत्साहित

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

महोत्तरी, १३ भदौ/रासस
    आफ्नै नगरमा पिसिआर परीक्षण हुन थालेपछि बर्दिबास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ। चारैतिर कोभिड–१९ सङ्क्रमणको सन्त्रास बढिरहँदा आफ्नै ठाउँमा स्वाब सङ्कलनदेखि परीक्षणसम्मका काम हुन थालेपछि आपत्कालमा पनि बर्दिबासवासीमा उत्साह छाएको हो।
    “अब स्वाब सङ्कलनपछि नतीजा (रिपोर्ट) पाउन लामो समय कुर्नुपरेन,” बर्दिवास नगरपालिकाले शुक्रवार बर्दिबास अस्पतालमै स्वाब सङ्कलन र परीक्षण थालेपछि बर्दिवास–२ का सामाजिक, राजनीतिक कार्यकर्ता मकरलाल विश्वकर्माले भने, “महाव्याधिको आपत्कालीन समयमा हाम्रालागि यो निकै राहतको कुरा भयो।”
    सेवा शुरू भएको पहिलो दिन नै १० जनाले स्वाब दिएका छन्। पहिलोपटक हुनाले आफ्नो प्रयोगशालाको परीक्षण नतीजा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पुष्ट्याइँ गरेपछि आइतवार सम्बन्धित व्यक्तिलाई दिइने नगर स्वास्थ्य शाखाले जनाएको छ। सोमवारदेखि भने दिनदिनै परीक्षण नतीजा आफ्नै प्रयोगशालाबाट पुष्टि गरिने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेन्द्रकुमार चौधरीले जानकारी दिए।
    गत असार २६ गते उद्घाटन भएको नवनिर्मित बर्दिबास अस्पताल भवनमा शुक्रवार नगरपालिकाको आफ्नै पहलकदमीमा पिसिआर परीक्षण शुरू गरिएको हो। कोभिड–१९ सङ्क्रमण समुदायस्तरमा फैलँदै जाँदा परीक्षण व्यापक बनाउने उद्देश्यसाथ नगरपालिकाले आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गरी स्थानीयस्तरमैं पिसिआर परीक्षण शुरू गरिएको जनाएको छ। अस्पतालमा यो सेवा क्रमशः जोखिममा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सङ्क्रमितसँग कन्ट्याक्ट ट्रेसिङमा रहेकाको पहिलो चरणमा गरिने नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए। परीक्षणको दायरा बढाउँदै अबको दुर्ई महीनाभित्र नगर क्षेत्रका प्रत्येक घरबाट कमसेकम एकजनाको पिसिआर परीक्षण गर्ने लक्ष्यसाथ काम थालिएको नगरप्रमुख कार्कीको भनाइ छ।
    नगरपालिकाले करीब रु एक करोड २५ लाख खर्च गरेर पिसिआर मेशिन, आवश्यक उपकरण अस्पतालमा जडान गराएको हो। यसको सञ्चालनका लागि दक्ष जनशक्तिको व्यवस्थापन पनि नगरपालिकाले नै गरेको छ। सेवालाई विस्तार गर्दै छिमेकका स्थानीय तहका बासिन्दाको समेत परीक्षण व्यवस्था विस्तार गर्न सम्बन्धित स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि समन्वय गरिने नगरप्रमुख कार्कीले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस