तेल अभिभ, २७ असार/एएनआई

इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले झन्डै १२ वर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोडेका छन् । इजरायलको राजधानी जेरूसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उनले सपरिवार खाली गरिदिएका हुन् ।

प्रधानमन्त्री निवासबाट नेतान्याहुको सपरिवार बहिर्गमनको विषयलाई स्थानीय सञ्चारमाध्यमहरूले आइतवार खूबै महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका थिए । प्रधानमन्त्री निवासबाट केही सामानसहित ट्रकहरू बाहिरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ती ट्रकहरू शनिवार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उनी देशको प्रमुख विपक्षी दलको नेता बनेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री निवासबाट निस्केपछि उनी शाब्बातमा रहेको आफ्नै घरमा बस्न लागेका छन् ।

प्रधानमन्त्री पदबाट मुक्त भएको झन्डै एक महीनापछि उनी प्रधानमन्त्री बस्ने सरकारी निवासबाट बाहिरिएका हुन् । विशेष एक सम्झौतापछि उनको सट्टामा इजरायलमा अहिले नाफ्ताली बेन्नेट प्रधानमन्त्री बनेका छन् । उनले यही जून १३ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here