प्रस, महोत्तरी, १३ भदौ/
महोत्तरीमा कोरोना भाइरसको सङ्क्रमणबाट शनिवार थप दुईजनाको मृत्यु भएको छ।
दुईजना पुरुषमा मृत्युपछि पिसिआर रिपोर्ट पोजेटिभ आएको कोभिड–१९ विशेष अस्पताल जनकपुरका प्रमुख डा जामुनप्रसाद सिंहले जानकारी दिए। जिल्लाको भङ्गाहा नगरपालिका–१ का ३५ वर्षीय युवक र पिपरा गापा–७ का ७० वर्षीय वृद्धमा मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएको हो।
बर्दिबासमा प्रारम्भिक उपचार गरिएका पिपराका ७० वर्षीय वृद्धलाई थप उचपारको लागि शनिवार बिहान प्रादेशिक अस्पताल ल्याइएकोमा उनको बिहानै मृत्यु भएको अस्पतालले जनाएको छ।
त्यस्तै, भङ्गाहा नगरपालिकाका युवकको पनि उपचारकै क्रममा आज बिहान प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। थप दुईजनाको मृत्यु भएसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ।
सङ्क्रमित वृद्धको मृत्यु
प्रस, सिराहा/
एक हप्तादेखि अस्पतालमा उपचार गराइरहेका सिराहाका कोरोना सङ्क्रमित एक वृद्धको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ। सिराहाको भदैया–६ का ८४ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रवार राति मृत्यु भएको हो। प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो।
भदौ ६ गते प्रतिष्ठानमा भर्ना गरिएका वृद्धको भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मृतकमा मिर्गौलासम्बन्धी पुरानो समस्या रहेको प्रतिष्ठानले जनाएको छ।