प्रस, वीरगंज, २६ असार
पर्सामा क्रियाशील साहित्यकार तथा साहित्य अनुरागीहरूको सहभागितामा बितेको २५ वर्षदेखि निरन्तरता पाएको प्रभात काव्य–यात्रालाई नयाँ संस्करणबाट आरम्भ गर्ने निर्णय भएको छ । विक्रम संवत् २०५३ सालमा प्रतीक दैनिकको कार्यालयबाट प्रारम्भ भएको प्रभात काव्य–यात्रालाई नयाँ संस्करणमा लानेबारे शनिवार प्रतीककै कार्यालयमा सम्पन्न बैठकले निर्णय गरेको हो ।
हरेक महीनाको अन्तिम शनिवार नियमितरूपमा सञ्चालन हुँदै आएको यात्रा विगतमा अङ्कको हिसाबले गणना गर्दा २०७७ वैशाखसम्म २८६औं यात्रा सम्पन्न भएको रेकर्ड फेला परेको र सोभन्दा पछिको रेकर्ड फेला नपरेकोले खोजी गर्ने प्रयास जारी राख्दै अबदेखि अङ्क गणना गर्दा २६र१, २६ र २ गर्दै गणना गरिने निर्णय भएको छ ।
यस यात्रामा कुनै पदाधिकारी नरहने र हरेक यात्रामा सहभागी यात्रुहरूमध्येबाटै कार्यक्रम सञ्चालन गरिने परम्परालाई कायम राख्दै पुनर्जीवनको चरणमा अगाडि बढाउने योजना बनेको छ । हाल कोरोना महामारी अवधिमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै थप दुईवटा कार्यक्रम प्रतीक दैनिकको कार्यालयमा सम्पन्न गर्ने र अवस्था सामान्य भएपछि यात्राका यात्रुहरूको घरमा पालैपालो गरी सम्पन्न गर्ने निर्णय भएको बैठकका सहभागी उपन्यासकार गणेश लाठले बताए ।
सम्पन्न बैठकमा काव्य–यात्राका संस्थापक तथा प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्मा, लेखक चन्द्रकिशोर झा, अजमत अली, दिलीप कार्की लगायतको सहभागिता थियो ।