वाशिङ्टन, अमेरिका, २६ असार/एएनआई
अमेरिकी सरकारले शुक्रवार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ । सिनच्याङ उइगुर क्षेत्रमा मानव अधिकार उल्लङ्घनमा उनीहरूको संलग्नता हुनुको कारण ती कम्पनीलाई प्रतिबन्धको सूचीमा राखिएको एनएचके वल्र्डले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै सम्प्रेषित समाचारमा उल्लेख छ । धेरै चिनियाँ कम्पनीले उच्च प्रविधि निगरानी प्रणाली प्रस्ताव गरेका कम्पनी पनि अमेरिकाको यो सूचीको हिस्सा भएका छन् ।
एनएचके वल्र्डले रिपोर्ट गरे अनुसार प्रतिबन्धित यी कम्पनीले चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी)को उइगुर र यस क्षेत्रका अन्य जातीय अल्पसङ्ख्यक समुदायविरुद्ध सामूहिक हिरासत र उच्च प्रविधिको निगरानीको अभियानलाई सक्षम पारेको आरोप अमेरिकाको छ ।
रिपोर्ट अनुसार अमेरिकी वाणिज्यमन्त्री जीना राइमन्डोले अमेरिकी मन्त्रालय सिनच्याङमा मानव अधिकार उल्लङ्घन गर्ने संस्थालाई लक्षित गर्न कडा र निर्णायक कदम चाल्न प्रतिबद्ध रहेको बताएकी छन् । बाइडेन प्रशासनले ‘बेइजिड्ढो मानव अधिकार उल्लङ्घन’ विरुद्ध कडा कदम चालेको एनएचकेले बताएको छ । दुई महीनाअगाडि अमेरिकाले पच चिनियाँ सौर्य प्यानल कम्पनीलाई सिनच्याङ– उइगुर क्षेत्रमा जबरजस्ती श्रम प्रयोग गरेको आरोप लगाउँदै प्रतिबन्धित सूचीमा जोडेको थियो ।
चिनियाँ सरकारले उक्त आरोपलाई अस्वीकार गर्दै यी प्रतिबन्ध झूटा आरोपमा आधारित रहेको बताएको पनि एनएचके वल्र्डद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ । चीनले उइगुर मुसलमानलाई असमान व्यवहार नगरेको दाबी गर्दै आएको छ । यद्यपि अमेरिकालगायत उसका सहयोगी राष्ट्रहरूले उइगुर मुसलमान समुदायलाई शिविरमा सामूहिक हिरासतमा राखेर उनीहरूको धार्मिक गतिविधिमा हस्तक्षेप गरेको र समुदायका सदस्यलाई दुःख दिएको बताउने गरेका छन् ।
अर्कोतर्फ सिसिपीले सिन्चियाङमा उइगुरविरुद्ध मानव अधिकार हननका घटना नभएको कुरामा जोड दिंदै कडा शब्दमा अमेरिकी निर्णयको विरोध गरेको छ । रासस