प्रस, पर्सागढी, २५ असार

रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–८ बस्तीपुरमा हिजो राति सार्वजनिक जग्गाको विषयलाई लिएर पुनः दुई पक्षबीच झडप भएको छ ।

बस्तीपुरमा रहेको सार्वजनिक जग्गाको विषयलाई लिएर विगत एक दशकदेखि विवाद हुँदै आएको र हिजो साढे दश बजे सोही विषयमा विवाद चर्किएर झडप भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए । उनले गाउँमा आफ्नो परिवारसँग झडप भएको सूचना पाएका ७० वर्षीय जगरनाथ चौधरीको हृदयघात भएर मृत्यु भएको पुष्टि गरे । यसैगरी, झडपको क्रममा आठवटा मोटरसाइकलमा आगजनी भएको छ ।

एकजनाको घरमा अबेर रातिसम्म मदिरासेवन गर्नेहरूले होहल्ला गरेको र अर्को पक्षले सोको विरोध गरेपछि झडप भएको स्थानीयले बताए । मदिरासेवन गर्नेहरूलाई सार्वजनिक जग्गा हडप्न नियोजितरूपले बाहिरबाट बोलाएको स्थानीयको आरोप छ । झडपमा आकाश चौधरी, विनेक चौधरी, मुथुन चौधरी, बच्चु चौधरीलगायत घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । थारू बाहुल्य बस्तीपुरमा दुई पक्षबीच जग्गाको विषयमा बेलाबखत झडप हुने गरेको छ । थप झडप हुन नदिनका लागि सुरक्षाकर्मीहरू तैनाथ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here