प्रस, बिरुवागुठी, २५ असार

जीतपुर–रङ्गपुर जनता सडक निर्माण सम्पन्न भएको आधा दशकमैं काम नलाग्ने गरी भत्किएको छ । पप्पु कन्स्ट्रक्शनले रु १७ करोडमा १७ किलोमिटर जनता सडक कालोपत्र गरेको थियो ।

दुई वर्षे निर्माण अवधिसमेत गणना गरेर अहिले यो सडक बनेको आधा दशक भएको छ । तर यो अवधिमा सडकखण्डका विभिन्न स्थानमा यति विघ्न खाल्डाखुल्डी छन् कि सवारीसाधनहरू सञ्चालनमा अप्ठेरो भएको छ । आधा दशकमा खाल्डाखुल्डीमा परिणत भएको यो सडकखण्ड अहिले वर्षायाममा झनै थला परेको छ । वर्षाले यसपटक सडकखण्डमा थप क्षति पु¥याएकोले ठाउँ–ठाउँमा भासिएको पनि छ ।

स्थानीय दीपेन्द्र चौधरीले वर्षायाम अगावै सडकका थुप्रै स्थानमा खाल्डाखुल्डी परेको र अहिले वर्षायामले थप क्षति गरेको बताए । उनले सडकमा खाल्डाखुल्डी भएका कारण सवारी दुर्घटना पनि बढेको बताए । ग्रामीण भेगको सडक त्यसमा पनि कालोपत्रे भएकोले युवाहरूले मोटरसाइकल बेस्मारी कुदाउने र यस क्षेत्रमा चल्ने टेम्पो पनि तीव्र गतिमा चल्ने हुँदा बेलाबेलामा दुर्घटना हुने गरेको चौधरीले बताए ।

जीतपुर–रङ्गपुरसम्मको कालोपत्र सडक पप्पुले बनाएको भएपनि यही सडकखण्ड भएर अहिले ठोरीसम्म सवारीसाधनहरू सञ्चालन हुँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here