प्रस, वीरगंज, २४ असार/
भारतबाट दुईवटा रेल नेपाल आएको १० महीना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।
सञ्चालनमा ढिलाइ भएपछि दुईवटै रेललाई पालले छोपेर राखिएको छ । गत वर्ष २०७७ असोज २ गते आएका दुईवटा रेल सञ्चालन हुन नसक्दा अन्य भौतिक पूर्वाधार तथा रेल सेटको इन्जिन र डिब्बामा पनि खराबी आउन सक्ने चिन्ता बढेर गएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय मातहत रहेको नेपाल रेलवे कम्पनीले रेल सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको छ । तर रेल आउनुभन्दा अगावै अन्य प्राविधिक कुराको व्यवस्थापन गर्न नसक्दा रेल चलाउने मिति सर्दै गरेको छ ।
सरकारले यही असार मसान्तभित्र रेल चलाउने तयारी गर्दै प्राविधिक कुराको व्यवस्थापनमा जुटेको थियो । तर असारमा रेल चल्ने सम्भावना न्यून रहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर तथा प्रवक्ता अमन चित्रकारले बताए । उनले रेल कहिले चल्छ भन्नेबारेमा अहिलेसम्म टुङ्गो नलागेको बताए । उनले कर्मचारीलाई तालीम दिने काम असार २५ मा सकिन्छ र रेल सेट खरीद गरिएको कम्पनीकै जनशक्ति र प्राविधिकबाट प्रारम्भिक चरणमा रेल सञ्चालन गर्ने लक्ष्य राखिएको प्रस्ट्याए ।
नेपाल रेलवे कम्पनीको मातहत भारतीय प्राविधिकको सहयोगमा रेल सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । नेपाल सरकारले भारतीय कम्पनी कोंकण रेलवे निगमबाट रु ८४ करोड ६५ लाखमा दुईवटा सेट रेल खरीद गरेको हो ।
त्यसै कम्पनीका प्राविधिक, जनशक्तिलाई सुरुआती चरणमा उपयोग गरी अघि बढ्ने सरकारी पक्षको सोच रहेको र यसमा पनि केही साता लाग्ने उनले बताए । साउन अन्तिमसम्म तयारी पूरा हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।
रेल सेट खरीद सम्झौता गर्ने बेलामैं भारतसँग २६ जना प्राविधिक ल्याउनेबारे टुङ्गो लगाउन नसक्दा अहिले यस्तो समस्या आएको हो । शुरूमा जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल चल्ने र पछि थप १७ किमी दूरीमा रहेको बिजलपुरासम्म रेल पुग्ने नेपाल रेलवे कम्पनीले जनाएको छ ।