प्रस, जनकपुरधाम, २२ असार/

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्व महादेव यादवको सपना पूरा गर्ने जिम्मेवारी पार्टी नेता, कार्यकर्ताको काँधमा आएको बताए । सो पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि उनलाई श्रद्धाञ्जलि दिन मङ्गलवार जनकपुर आएका प्रचण्डले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्ड जनकपुरको स्वर्गद्वारी पुगेर दिवङ्गत यादवको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

उनले जनकपुरधाम–१४ स्थित मृतक यादवको घर पुगेर परिवारजनलाई सान्त्वना दिए । यादवकी पत्नीलाई भेट गर्दै पार्टी अध्यक्ष प्रचण्डले भने, “अब कमरेड महादेवजीको सपना हामीले मिलेर पूरा गर्नुपर्छ ।” उनले एक शोक वक्तव्य प्रकाशित गर्दै दुःख व्यक्त गरे । यादवको निधनले नेपाली कम्युनिस्ट आन्दोलनले एक सङ्घर्षशील नेता गुमाउनुका साथै पार्टीले समर्पित सहकर्मी गुमाएको विज्ञप्तिमा उल्लेख छ ।

क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमवार बेलुका जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

यादवले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन शुरू गरेका थिए । उनी शहीद रामवृक्ष यादवलाई आदर्श मान्दै पञ्चायतविरोधी आन्दोलन, राजाविरोधी आन्दोलन र भूमिगत जनयुद्धमा सक्रिय सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here