बर्लिन, २२ असार एएफपी

जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी, भारतीय र नेपाली पर्यटकमाथि लगाएको यात्रा प्रतिबन्ध बुधवारदेखि हट्ने भएको छ । दुवै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारेन्टाइनमा समेत बस्नुनपर्ने बर्लिनले जनाएको छ ।

यद्यपि खोप नलगाएका व्यक्तिको सम्बन्धमा भने १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ । खोप नलगाएका व्यक्तिले पनि क्वारेन्टाइनमा बसेको पाँचौं दिन परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण नपाइए स्वतन्त्र हिंड्डुल गर्न दिइने जर्मनी प्रशासनले बताएको छ ।

बेलायत, पोर्चुगल, रूस, भारत र नेपाललाई हालसम्म ‘डेल्टा’ र ‘डेल्टा प्लस’ कोभिड भाइरस फैलिएका कारण, कोभिडको महामारीजन्य जोखिमयुक्त मुलुक भनी वर्गीकृत गरिएको थियो । शुरूमा भारतमा पहिचान भएको कोभिडको ‘डेल्टा’ प्रजातिलाई विश्व स्वास्थ्य सङ्गठनले अति जोखिमयुक्त प्रजातिका रूपमा वर्गीकरण गरेको छ ।

महामारी नियन्त्रणका लागि ती मुलुकका नागरिकका लागि यात्रा प्रतिबन्ध लगाइएको भएपनि जर्मनीका नागरिक वा स्थायी बासिन्दामाथि प्रतिबन्ध लागू गरिएको थिएन तर उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था भने गरिएको थियो ।

यी पाँच राष्ट्रलाई सङ्क्रमितहरूको सङ्ख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिएको त्यहाँको स्वास्थ्य निकायले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here