प्रस, वीरगंज, २१ असार
वर्षा र बाढीका कारण वीरगंज महानगरको सफाइ कार्य पनि प्रभावित भएको छ । केही दिनदेखि वीरगंज महानगरमा फोहर यत्रतत्र देख्न पाइन्छ । वीरगंज महानगरको साझेदार संस्था पृथ्वी तारा एनके इन्टरनेशनल जेभीले वीरगंजको फोहर सङ्कलनको जिम्मेवारी लिएको छ ।
सो संस्थाका सञ्चालक शिव गुप्ताले वर्षा र बाढीका कारण फोहर सङ्कलन कार्य प्रभावित भएको बताए । उनले महानगरका विभिन्न स्थान डुबानमा रेको र त्यहाँ फोहर आएर थुप्रिएको बताए । उनले आदर्शनगर क्ष्Fेत्रमा फोहर सङ्कलन गर्ने ठूलो कन्टेनर पनि श्रीसियामा आएको बाढीले बगाएर अन्यत्र लगेपछि फोहर छरिएको बताए । यसैगरी, विभिन्न वडा डुबानमा पर्दा फोहर छरिएको उनको भनाइ छ ।
वीरगंज महानगरमा दैनिक ४५ मेट्रिकटन फोहर सङ्कलन हुने गरेकोमा अहिले वर्षा र बाढीका कारण १० टन कम फोहर सङ्कलन भइरहेको उनले बताए । महानगरका विभिन्न ११ वटा स्थानमा २२ वटा ठूला कन्टेनर फोहर सङ्कलनका लागि राखिएको र दैनिक ३५ वटा ट्याक्टरबाट फोहर सङ्कलन हुँदै आएकोमा अहिले २७र२८ वटा ट्याक्टरले फोहर सङ्कलन गरिरहेको बताए ।
पृथ्वी तारा एनके इन्टरनेशनल जेभीले महानगरका पुराना १६ वटा वडा र नयाँ १६ वटा वडामध्ये पश्चिममा विन्ध्यवासिनी गाउँपालिका र उत्तरमा बगहीसम्मको फोहर सङ्कलन गरेर फोहर प्रशोधन केन्द्रमा पठाउने गरेको सञ्चालक गुप्ताले बताए । उनले त्यसबाहेकका क्षेत्रमा सङ्कलित फोहर सोही ठाउँको खाली जग्गामा विसर्जन गर्ने गरेको बताए ।
अहिले महानगरबाट सङ्कलित फोहरबाट दैनिक १ टन मल उत्पादन भइरहेको छ । प्लास्टिकजन्य फोहर भने रिसाइक्लिङ गरेर कबाडमा बिक्री हुने गरेको छ ।